काठमाडौं-प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण २०८२ चैत्र १२ गते हुने भएको छ। संघीय संसद सचिवालय चैत ५ गते बिहीबार सिंहदरवारमा नयाँ प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ दलसँग छलफल गर्दै २०८२ चैत्र १२ गते दिउँसो २ बजे नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण गराउने तयारी भएको जनाएको हो।
दलहरुसँग शपथ ग्रहण, अभिमुखीकरण कार्यक्रम र संसदीय दलको कार्यालय व्यवस्थापनसँगका विषयमा छलफल भएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।
संसदीय दलका कार्यालय व्यवस्थापन चुनौतीपूर्ण देखिएपनि उपलब्ध स्रोतसाधनभित्रै रहेर कार्यालय व्यवस्थापन गरिएको उनले बताए। उनले दलका प्रतिनिधिहरूलाई कार्यलयको प्रत्यक्ष अवलोकन गराइएको जानकारी दिए।
उनकाअनुसार ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका लागि पहिला नेपाली कम्युनिष्ट पार्टीले प्रयोग गर्दै आएको कार्यालय उपलब्ध गराइएको छ। यस्तै, अन्य दललाई संख्याअनुसार स्थान बाँडफाँट गरिएको सचिवालयले जनाएको छ।
उनले भने, ‘आजबाट संघीय संसद सचिवालयले संसदीय दलको कार्यालय उपलब्ध गराएको छ। संख्या अनुसार संसदीय दलको कार्यालय व्यवस्थापन गरेका छौँ। ठूलो दलको लागि अहिले पहिलाको नेकपाको दलको कार्यलयमा व्यवस्थापन गरिएको छ। संसदमा उहाँहरुको प्रतिनिधित्वको आधारमा कार्यालय व्यवस्थापन गरिएको हो।’
सचिवालयका प्रवक्ता एकराम गिरीकाअनुसार सांसदहरूको शपथग्रहण अगाडी ज्येष्ठ सदस्यको पहिचान गरी राष्ट्रपतिसमक्ष शपथ गराइनेछ। त्यसपछि ज्येष्ठ सदस्यले अन्य सांसदहरूलाई शपथ गराउने उनले जानकारी दिए।
त्यस्तै नवनिर्वाचित सदस्यहरुको अभिमूखीकरणका लागि समेटनुपर्ने विषयमा पनि दलहरूसँग राय लिइएको उनले बताए। ज्येष्ठ सदस्य पहिचान गरेर शपथग्रहणको लागि ३ जनाको नाम राष्ट्रपति कार्यालय पठाइने उनले जानकारी दिए। उनकाअनुसार राष्ट्रपतिले सबैभन्दा ज्येष्ठ एक सदस्यलाई शपथग्रहण गराउनेछन्।
उनले भने, ‘शपथग्रहण यही चैत १२ गते दिउँसो २ बजे गर्नेगरी तयारी गरेका छौँ। सांसदहरूको शपथग्रहण अगाडी ज्येष्ठ सदस्य पहिचान गर्नुपर्ने हुन्छ, ज्येष्ठ सदस्यलाई सम्माननीय राष्ट्रपतिज्यूसँग शपथग्रहण गर्नुपर्ने हुन्छ। र, उहाँले सभाका सदस्यहरुलाई शपथ गराउनुहुन्छ।’
खासगरी सैद्धान्तिक पक्ष भन्दा पनि व्यवहारिक पक्षलाई समेटेर अलि बढी केन्द्रित गरेर अभिमुखीकरणमा जान जरुरी रहेको सुझावहरु आएको प्रवक्ता गिरीले उल्लेख गरे।
त्यस्तै उनले संसदीय दलको कार्यालयहरू व्यवस्थापन गर्न अलिकति चुनौतीपूर्ण रहेकाले उपलब्धताकाबीच रहेर संसदीय दलको कार्यालय व्यवस्थापन गरेको बताए।
छलफलपछि संसद सचिवालयले दलका प्रतिनिधिहरुलाई दलको कार्यालय समेत देखाएको थियो। प्रवक्ता गिरीका अनुसार ठूला संख्याका हिसावले रास्वपालाई नेकपाको दलको कार्यालयमा व्यवस्थापन गरिएको जानकारी दिए।






प्रतिक्रिया