काठमाडौं-प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन्। आज ७५ वर्षीय केसीले प्रतिनिधसभाको जेष्ठ सदस्यको रूपमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शीतलनिवासमा शपथ ग्रहण गरेका हुन्।
प्रतिनिधसभाको चुनावबाट निर्वाचितमध्ये जेष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ लिने र ती जेष्ठ सदस्यले अन्य सदस्यलाई शपथ गराउने व्यवस्था रहेको छ। सोहीअनुसार सिंहले बिहीबार बाँकी २७४ सांसदलाई शपथ गराउने कार्यसूची रहेको छ। शपथ लगत्तै केसीले आफ्नो शपथ पत्रमा हस्ताक्षर गरेका छन्। २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यमध्ये केसी सबैभन्दा पाका सदस्य हुन्।
प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ र समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना निर्वाचित भएका छन्। सांसद केसी कांग्रेसबाट समानुपातिक निर्वाचन प्रणालीका माध्यमबाट निर्वाचित भएका हुन् ।
शपथ ग्रहण समारोहमा उच्च पदस्थ व्यक्ति, सुरक्षा निकायका प्रमुख, कुटनीतिक नियोगका प्रमुख लगायतको उपस्थित रहेको थियो। अब ज्येष्ठ सदस्य केसीले प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउनेछन्।









प्रतिक्रिया