काठमाडौं-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई भारतको भ्रमणको औपचारिक निमन्त्रणा पठाएका छन्। मौरिससमा आयोजित हिन्द महासागर सम्मेलनको साइडलाइनमा भारतीय समाचार च्यानलका पत्रकार सिधान्त सिबलसँग कुरा गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमण र नेपालको नयाँ परराष्ट्र नीतिका विषयमा विस्तृत जानकारी दिएका हुन् ।
परराष्ट्रमन्त्री खनालका अनुसार भारतीय प्रधानमन्त्री मोदीले भ्रमणको निम्तो दिइसकेका छन् भने प्रधानमन्त्री बालेनले त्यो स्वीकार गरिसकेका छन्।
नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुन हाल मौरिससमा रहेका परराष्ट्रमन्त्री खनालले भारतीय अनलाइन विअन (डब्ल्यूआईओएन) सँगको कुराकानीमा मोदीले शुभकामना सन्देश पठाउँदा नै भारत भ्रमणको निम्ता दिएको र त्यसमा नेपाल सरकारले सहमति जनाएको बताएका हुन्।
यद्यपि भ्रमणको मिति तोक्न भने बाँकी रहेको उनको भनाइ छ।
‘हाम्रा प्रधानमन्त्री (बालेन शाह) ले बधाई सन्देशमा (भ्रमणको) निमन्त्रणा प्राप्त गर्नुभएको छ। प्रधानमन्त्रीले स्वीकार पनि गर्नुभएको छ’, उनले डब्ल्यूआईओएन) सँग भनेका छन्, ‘तर मिति र समय हाम्रा संयन्त्रले निर्धारण गर्नेछन्।’
परराष्ट्रमन्त्री खनालले मौरिससमै गत शुक्रबार भारतका विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए।
त्यस क्रममा द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल भएको उनले उल्लेख गरेका छन्।
मुख्य रूपमा हामीले नयाँ सरकारको हैसियतले हाम्रा प्राथमिकताहरू तयार पार्नेबारे कुरा गर्यौँ’, परराष्ट्रमन्त्री खनालले भनेका छन्।








प्रतिक्रिया