अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपति सम्बोधन गरिरहँदा प्रधानमन्त्री संसद्‌बाट हिँडेकोबारे कांग्रेसले माग्यो जवाफ

राष्ट्रपति सम्बोधन गरिरहँदा प्रधानमन्त्री संसद्‌बाट हिँडेकोबारे कांग्रेसले माग्यो जवाफ


काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते साेमबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा संसद् बैठकबाट बाहिरिएको घटनामा प्रधानमन्त्री बालेन शाहको जवाफ माग गरेको छ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस प्रमुख सचेतक वासना थापाले प्रधानमन्त्रीको व्यवहार संसदीय परम्पराविपरीत भएको भन्दै प्रधानमन्त्रीको जवाफ माग गरेकी हुन्।

प्रधानमन्त्री उठेर हिँडेको विषयमा जवाफ दिनुपर्ने उनले माग गरिन् । लोकतन्त्रमा पदभन्दा ठूलो मर्यादा हो भन्ने कुरा भुल्न नहुने उनको भनाइ । ‘लोकतान्त्रिक संसदीय अभ्यासको इतिहासमा सायद विरलै देखिने दृश्य हिजो देखियो । राष्ट्रपतिज्यूबाट सरकारकै नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्रीज्यू संसद्बाट बाहिरिनु यो केवल सामान्य दृश्य होइन,’ उनले भनिन् ।

संवैधानिक संस्कार, संसदीय परम्परा, राज्यको उत्तरदायीत्व र सरकारको गम्भीरता हुनुपर्ने कुरा आफ्नो पार्टीलाई लागेको उनले सुनाइन् ।

‘यस विषयमा स्पष्ट जवाफ दिइयोस् । यस्ता घटनाको पुनरावृत्ति नहोस् । लोकतन्त्रमा पदभन्दा ठूलो कुरा मर्यादा र मर्यादाभन्दा ठूलो कुरा जनविश्वास हो भन्ने कुरामा ध्यान जओस्,’ उनले भनिन्, ‘प्रतिपक्षी दलको तर्फबाट सम्माननीय प्रधानमन्त्रीज्यूको जवाफको माग गर्दछु ।’