अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसद्‌मा बादलको टिप्पणी: रास्वपा महत्त्वाकाङ्क्षी र अराजक जमातको गठजोड हो

संसद्‌मा बादलको टिप्पणी: रास्वपा महत्त्वाकाङ्क्षी र अराजक जमातको गठजोड हो


काठमाडौं- नेकपा एमाले उपाध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले रास्वपा वैचारिक विचारधारामा आधारित दल नभएको टिप्पणी गरेका छन्।

मंगलबार दलीय हैसियतले प्रतिनिधिसभा बैठकमा बोल्दै नेता थापाले आकस्मिक रूपमा उत्पन्न भएको अति महत्त्वाकाङ्क्षी अराजक जमातहरूको अस्थायी गठजोड भएको कटाक्ष गरेका हुन् ।

‘रास्वपा कुनै सुसंगत वैज्ञानिक विचारधारामा आधारित दल होइन । यो आकस्मिक, अप्रत्याशित रूपमा उत्पन्न भएको अति महत्वाकांक्षी, अराजक जमातहरूको अस्थायी गठजोड हो,’ नेता बादलले भने, ‘यो दार्शनिक रूपमा सारसंग्रहवाद र राजनीतिक रूपमा लोकप्रियतावादको दलदले जगमा अडेको छ।’

नेता बादलले रास्वपा सरकारले संसदको अधिवेशन स्थगित गरेर आठ वटा अध्यादेश ल्याउनुको राजनीतिक लक्ष्य देशको प्रशासनतन्त्र र न्यायतन्त्रमा एकल प्रभुत्व कायम गर्नु मात्र रहेको बताए ।

नेता बादलले, ‘प्रतिनिधिसभा तथा सङ्घीय सरकारमा आफ्नो एकल नेतृत्व स्थापित गरिसकेपछि रास्वपा सरकारले निर्धारित अधिवेशन स्थगन गरी ८ वटा अध्यादेश जारी गर्‍यो। यसको राजनीतिक लक्ष्य राज्यको प्रशासन तन्त्र तथा न्यायतन्त्रमा आफ्नो एकल प्रभुत्व कायम गर्नु थियो। यो लक्ष्य प्राप्त गर्न पनि रास्वपा सफल रह्यो।’

नेता बादलले रास्वपाको सफलता देश र जनताको लागि दशकौँदेखि अतुलनीय योगदान, बलिदान तथा विलक्षण प्रतिभा एवं क्षमताबाट प्राप्त गरेको कदापि नभएको जिकिर गरे।

नेता बादलले भने, ‘यो सफलता त दशकौँ देखि तत्कालीन सत्ताधारी दलहरूले गरेका कमजोरीहरूको योगफल, एआई र अल्गोरिदमको जादु र विश्व भू–राजनीतिक दृश्य र अदृश्य प्रभावहरूको कुल परिणाम थियो।’

नेता बादलले २०८३ वैशाख २८ गते राष्ट्रपतिले सरकारका १०० बुँदे नीति कार्यक्रम सार्वजनिक गरेको भन्दै उनले आगामी निर्वाचनमा रास्वपाले राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तहमा रास्वपाको एकल नेतृत्व स्थापित गर्न लागिरहेको बताए । 

लिपुलेक, टीओवी काण्डबारे नीति तथा कार्यक्रम चुपचाप भएको, शिक्षक तथा पेशा कर्मीको अधिकार खोसिदा नीति कार्यक्रमको घण्टी नबजेको, ऋण लिएर विकास हुँदैन भन्नेहरूले किन ऋण लिइरहेका छन् भन्दै नेता बादलले दर्जनौँ प्रश्न गरे ।