अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउने अधिकार मसँग छैन: सभामुख अर्याल

प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउने अधिकार मसँग छैन: सभामुख अर्याल


काठमाडौं-प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले आफूलाई प्रधानमन्त्री बालेन्द्र साहलाई संसद्को बैठकमा उपस्थितिका लागि मिति तोक्ने कुनै अधिकार नभएको बताएका छन्। 

विपक्षी दलका सांसदहरूले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीलाई अनिवार्य उपस्थित गराउन रुलिङको माग गरेपछि सभामुख अर्यालले यस्तो प्रष्ट पारेका हुन्। 

सभामुख अर्यालले कुनैपनि सांसदहरूलाई सभामा उपस्थितिका लागि कार्यतालिका तोक्ने अधिकार र आधार आफूसँग नभएको स्पष्ट पारे।

सभामुख अर्यालले भने, ‘अहिले माननीय सदस्यहरूले के प्रश्न गरिरहनुभएको छ भने सम्माननीय प्रधानमन्त्री आउने सुनिश्चितता गर्नु पर्‍यो भनेर। म माननीय सदस्यहरूलाई आगामी दिनपनि कोही पनि माननीय सदस्यज्यूहरूको सम्माननीय प्रधानमन्त्रीज्यूको मात्रै होइन, कोही पनि माननीय सदस्यज्यूहरू भोली यो सदनमा आउन सक्नु हुन्छ वा सक्नु हुन्न भनेर आज नै सभामुखले उहाँ सदस्यको भोलिसम्मको कार्यतालिका सोध्न सक्ने कुनै आधार अधिकार मैले देख्दिन।’ 

 सभामुख अर्यालले कानुन निर्माणको थलो भएकाले स्थापित नियम र कानुनमा टेकेर नै सदन सञ्चालन गर्नुपर्नेमा जोड दिए। 

सभामुख अर्यालले आफूले आजको बैठक सुचारु गराउन विपक्ष दलका सांसदहरूलाई आग्रह गर्दै सभामा उपस्थितिका लागि आजै बेलुका प्रधानमन्त्री साहसँग आफूले छलफल गर्ने प्रतिवद्धता समेत व्यक्त गरे।

प्रतिनिधि सभाको बैठक पुनः १५ मिनेटका लागि स्थगित भएको छ।