अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संविधान संशोधन गणितको जोडघटाउ मात्र होइन, साझा ढुकढुकी बन्नुपर्छ: सुहाङ नेम्वाङ

संविधान संशोधन गणितको जोडघटाउ मात्र होइन, साझा ढुकढुकी बन्नुपर्छ: सुहाङ नेम्वाङ


काठमाडौं-नेकपा (एमाले) का सांसद सुहाङ नेम्वाङले संविधान संशोधनको विषय राजनीतिक अंकगणितको जोड घटाउमा मात्र सीमित हुन नहुने बताएका छन्।

प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद नेम्वाङले संविधान र अर्थतन्त्रका विषयमा सरकारको ध्यानाकर्षण गराए ।

सांसद नेम्वाङले संविधान जारी भएको १० वर्ष पुग्न लागेको सन्दर्भमा यसको समीक्षा र संशोधनको चर्चा भइरहँदा संशोधन अग्रगमनका लागि हुनुपर्नेमा जोड दिएका छन् ।

‘संविधान केवल अक्षरहरूको सङ्ग्रह होइन, यो रगत र पसिनाले लेखिएको साझा सहमति हो । संविधानका अक्षरहरू बहुमतको गणितले मात्र कोरिनु हुँदैन। त्यसमा राष्ट्रको साझा ढुकढुकी र सहमतिको रङ्ग भरिनुपर्छ’, सांसद नेम्वाङले भने ।

सरकारले ल्याएको नीति तथा कार्यक्रमले जनताका अपेक्षा, भरोसा र प्रश्नहरूलाई सम्बोधन गर्न नसकेको सांसद नेम्वाङले टिप्पणी गरे । उनले नीति तथा कार्यक्रममा जनताको आशा जगाउने ठोस योजना नभेटिएको जिकिर गरे ।

सांसद नेम्वाङले भने, ‘परनिर्भर अर्थतन्त्रको जगमा उभिएर कुनै पनि देश समृद्ध भएको इतिहास विश्वमा कतै छैन । नीति तथा कार्यक्रममा आत्मनिर्भर अर्थतन्त्र निर्माणको स्पष्ट मार्गचित्र र दृढ सङ्कल्पको अभाव देखिएको छ ।’

उत्पादनबिना वितरणको सपना बाँड्नुको अर्थ नरहेको भन्दै सांसद नेम्वाङले भने, ‘हामी कहिलेसम्म विदेशी अनुदानको वैशाखी टेकेर देश विकास गर्ने ? अब अरूले देखाइदिएको बाटोमा होइन, आत्मनिर्भर अर्थतन्त्रको नेपाली बाटोमा निर्माण गर्नुपर्छ, जुन उत्पादनको बाटो हो ।’

सुशासनका नाममा राज्यको दमन वा त्रास फैलाउने कार्यप्रति उनले विरोध जनाए । सुशासन राज्यको दमन, बन्दूक वा जेल देखाएर मात्र सम्भव नहुने भन्दै बलियो प्रणाली र पद्धतिको विकासमा सुहाङको जोड छ ।

सरकारलाई केवल बाचा र दाबीहरू मात्र प्रस्तुत नगर्न र वस्तुगत हिसाबले कति काम सम्पन्न भए र कति बाँकी छन् भन्ने यथार्थ विवरण राख्न पनि उनले आग्रह गरेका छन् ।