काठमाडौं-संघीय संसदका दुवै सदनको बैठक आज बस्दै छ। संघीय संसद सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्ने कार्यसूची छ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। साथै, आर्थिक वर्ष २०८३/०८४ का लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल प्रारम्भ हुने संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जनाएका छन् ।
राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल प्रारम्भ हुने कार्यसूची रहेको जनाइएको छ।
बजेट निर्माणको यो पूर्वसन्ध्यामा सङ्घीय संसद् अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक पनि सोमबार नै बस्दैछ। सिंहदरबारस्थित समितिको सभाकक्षमा बिहान १० बजेका लागि बैठक आह्वान गरिएको छ।
यस बैठकको मुख्य कार्यसूची आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट तर्जुमाका सम्बन्धमा विभिन्न मन्त्रालयहरूसँग छलफल गर्ने रहेको छ। बैठकमा आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता, योजना र मन्त्रालयगत आवश्यकताका विषयमा केन्द्रित रहेर सम्बन्धित निकायका प्रतिनिधिहरूसँग विस्तृत परामर्श गरिने कार्यतालिका छ।





प्रतिक्रिया