अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाथिभरा केवलकार र सडक पूर्वाधार निर्माणबारे सांसद थेबेद्वारा सरकारको ध्यानाकर्षण

पाथिभरा केवलकार र सडक पूर्वाधार निर्माणबारे सांसद थेबेद्वारा सरकारको ध्यानाकर्षण


काठमाडौँ-नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सांसद क्षितिज थेबेले ताप्लेजुङस्थित पाथीभरा (मुकुम्लुङ) मा निर्माणाधीन केबलकार परियोजना र सडक पूर्वाधारको सुस्त गतिलाई लिएर सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा बोल्दै सांसद थेबेले राष्ट्रिय गौरव र स्थानीय विकाससँग जोडिएको पाथीभरा केबलकार परियोजनाका सम्बन्धमा सरकारको आधिकारिक धारणा माग गरेका हुन्। 

केबलकार निर्माण कार्य रोकिएको भन्ने मौखिक सूचनाहरू बाहिरिएका कारण ताप्लेजुङका जनतामा ठुलो अन्योल छाएको उनले उल्लेख गरे । सांसद थेबेले एकातिर परियोजनाको विरोध भइरहेको र अर्कोतर्फ विकास, पर्यटन तथा रोजगारीका लागि यो आयोजना अपरिहार्य रहेको बताउँदै स्थानीय समुदायको धार्मिक तथा सांस्कृतिक आस्था र विकासबिच सन्तुलन कायम गर्न सरकारसँग ठोस योजना माग गरे । 

उनले सरकारलाई अफवाहको भरमा नभई स्पष्ट आधिकारिक निर्णयका साथ अगाडि बढ्न र सबै पक्षबिच विश्वासको वातावरण सिर्जना गर्न आग्रह गरे । उनले भने, ‘यो आयोजना बन्ने हो कि रोकिने हो ? सरकारको आधिकारिक धारणा के हो ? ताप्लेजुङका जनता स्पष्ट जानकारीको पर्खाइमा छन् । ताप्लेजुङबाट काठमाडौँ आउँदा उक्त सडक खण्डमा गाडी चल्न नसक्ने अवस्था थियो । अन्ततः डोजरले बाटो खोलेपछि मात्र यात्रा सम्भव भयो । तीन–तीन वर्ष म्याद थप्दा पनि ट्र्याक खुल्न नसक्नु कस्तो विडम्बना हो ?’