अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

परम्परा तोड्ने हो भने सिंहदरबार, प्रधानमन्त्री पद सबै भत्काउँ: अमरेश सिंह

परम्परा तोड्ने हो भने सिंहदरबार, प्रधानमन्त्री पद सबै भत्काउँ: अमरेश सिंह


काठमाडौं-प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारको क्रमभंगता प्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद अमरेशकुमार सिंहले असन्तुष्टि जनाएका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बजेटका प्राथमिकतामाथि छलफल जारी रहँदा अर्थमन्त्री स्वर्णिम वाग्ले नदेखिएपछि सांसद सिंह झोक्किएका हुन्।

सरकारको तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनाल उपस्थित हुँदा बजेट अर्थमन्त्रीले बनाउने हो भन्दै व्यङ्ग्य पनि गरे।

सांसद सिंहले २० वर्षमा पहिलोपटक अर्थमन्त्री नभएर पनि प्रि–बजेट छलफल भएको पहिलोपटक देखेको बताए।

‘बजेट अर्थमन्त्रीले बनाउने सिस्टम छ। परम्परा भत्काउँदै गयो भने संसदको औचित्य समाप्त हुन्छ। बजेटका प्राथमिकतामाथि छलफल हुँदा अर्थमन्त्री जहिले पनि बस्ने सिस्टम छ। परराष्ट्रमन्त्रीले बजेट बनाउने होइन। देशले संसदीय प्रणाली अवलम्बन गरेको छ,’ उनले भने, ‘२० वर्षको कार्यकालमा अर्थमन्त्री नभए पनि पहिलोपटक देख्दै छु अर्थमन्त्रीबिना प्रि–बजेट छलफल भइरहेको छ । यो कस्तो परम्पारको सुरुवात हुँदै छ ? नयाँको नाममा सबै चिज भत्काउने होइन।’

संसदीय व्यवस्था अवलम्बन गरेको देशमा संसदीय प्रणाली मान्नुपर्ने सिंहको भनाइ थियो। प्रणाली भत्काउने भए सबै चिज भत्काउने प्रस्ताव उनको छ। ‘सिंहदरबार पनि भत्काऔँ, प्रधानमन्त्री पद पनि भत्काऔँ, मन्त्री पद पनि भत्काऔँ । सबै चिजहरू चेन्ज गरौँ । सबै चिज औचित्यपूर्ण हुनुपर्छ । जति व्यस्त भए पनि एक दिन दुई दिन छलफल चल्छ,’ उनले भने।