काठमाडौँ-नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले पहाडी क्षेत्रको तीव्र बसाइँसराइ र त्यसका कारण निम्तिएको जनसाङ्ख्यिक सङ्कटप्रति सरकारको विशेष ध्यानाकर्षण गराएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक माथिको छलफलमा भाग लिँदै सांसद राईले ध्यानाकर्षण गराएका हुन्।
पहाडी क्षेत्रको भयावह अवस्था चित्रण गर्दै सांसद राईले भने, ‘पछिल्लो समय पहाडबाट मान्छेहरू धमाधम बसाइँ सर्दै छन्। गाउँघरमा बाँदरको आतङ्क बढी छ। मृत्यु हुँदा मलामी जाने मान्छेसम्म नपाइने अवस्था छ। ८३ प्रतिशत भू–भाग र ५४ प्रतिशत जनसङ्ख्या भएको हिमाल–पहाडलाई प्राथमिकतामा राखिएन भने १०–१५ वर्षपछि यो क्षेत्र जङ्गलमा परिणत हुनेछ।’
शिक्षा र स्वास्थ्य क्षेत्रमा रहेको चरम विभेदबारे चर्चा गर्दै सांसद राईले कोशी प्रदेशका पहाडी जिल्लामा एउटा पनि मेडिकल कलेज नहुनु अत्यन्तै दुःखद् भएको बताए । गरिबका छोराछोरीले पनि चिकित्सा शिक्षा पढ्न पाउने व्यवस्थाका लागि पहाडी क्षेत्रमा तत्काल मेडिकल कलेज स्थापना गर्न सांसद राईले माग गरे।
साथै, देश विकासका लागि आवश्यक पर्ने इन्जिनियर, डाक्टर, कृषि र वन विज्ञ जस्ता प्राविधिक जनशक्तिको सही प्रक्षेपण गरी सोही अनुसार उत्पादन गर्ने ठोस योजना आगामी बजेटमा आउनुपर्नेमा उनले जोड दिए ।
कृषि क्षेत्रको सुधारका लागि स्थानीय तहमार्फत किसानको उत्पादन जस्तै मकै, गहुँ, उखु आदिको खरिद गर्ने र बजारको सुनिश्चितता गर्ने व्यवस्था मिलाउन उनले सरकारलाई महत्त्वपूर्ण सुझाव दिए ।
सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले ग्रामीण क्षेत्रका वास्तविक समस्या र आम नागरिकलाई सम्बोधन गर्न नसकेको भन्दै आलोचना गरेका छन् ।
उनले महत्त्वपूर्ण विषयमा सदनमा छलफल भइरहँदा मन्त्रीहरूको अनुपस्थिति रहने गरेको प्रति गम्भीर असन्तुष्टि जनाउँदै संसद्मा सरकारको यस्तो गैरजिम्मेवार व्यवहारलाई जनताले नजिकबाट नियालिरहेको बताए ।




प्रतिक्रिया