काठमाडौँ-प्रतिनिधि सभाको अर्को बैठक आगामी बिहीबार बस्ने भएको छ। बुधबारको बैठकका निर्धारित कार्यसूचीहरू सम्पन्न भएसँगै सभामुख डीपी अर्यालले अर्को बैठक बिहीबार बिहान ११ बजे बस्ने जानकारी गराएका हुन्।
बुधबार बसेको प्रतिनिधि सभाको आठौँ बैठकमा दुईवटा महत्वपूर्ण संशोधन विधेयकहरू प्रस्तुत गरिएका छन्। बैठकमा प्रधानमन्त्री तथा गृह मन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले व्यवस्थापन कार्यअन्तर्गतका विधेयकहरू सदनमा पेश गरेकी हुन्।
मन्त्री गौतमले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्दै उक्त विधेयक सदनमा पेश गरिन् । त्यसैगरी, मन्त्री गौतमले नै ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ लाई पनि सदनसमक्ष प्रस्तुत गरिन् ।
२०८२ मा निर्वाचित प्रतिनिधि सभाको दोस्रो अधिवेशन अन्तर्गत बुधबारको बैठकमा यी दुवै विधेयकहरूलाई प्रस्तुत गर्ने र अनुमति माग्ने चारवटा कार्यसूचीहरू रहेका थिए । ती सबै कार्यसूचीहरू पूरा भएपछि बैठक बिहीबारसम्मका लागि स्थगित गरिएको हो ।




प्रतिक्रिया