काठमाडौं-नेकपा एमालेका सांसद क्षितिज थेवेले प्रतिनिधिसभा बैठकमा सरकारप्रति कटाक्ष गर्दै ताप्लेजुङका सडक र पूर्वाधार आयोजनाको दयनीय अवस्थाबारे ध्यानाकर्षण गराएका छन्।
जेठ ७ गते बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थेवेले जिल्लाका विभिन्न सडक आयोजना वर्षौंदेखि अलपत्र परेको उल्लेख गर्दै जनताका सपना अझै पूरा हुन नसकेको बताए।
सांसद थेवेले, ‘यी शब्दहरू ताप्लेजुङको भावना हुन्’ भन्दै विकास निर्माणमा सरकार गम्भीर नभएको आरोप लगाए।
५० वर्ष भयो जनताको सपना अधुरै,
सुकेटार एयरपोर्ट विस्तार र कालोपत्रे भयो तर नियमित विमान गएन।
वर्षायाम सुरु भयो, पालो सडक रोपाइँको।
बहानन्द–दोभान सडक कालोपत्रे ढिलो स्थिति, कारण आवश्यक बजेट नभएको।
देउराली–तिलोक सडक अलपत्र।
हाङद्रुङ–फुङ्फुङ्गे सडक हरिबिजोग।
साप्लाखु–सुरुम्खिम सडक झन् बिजोग।
थर्पु–यामफुदिन सडक २०४६ सालबाट बनेको अहिलेसम्म उस्तै।
पाथिभरा सडक मुख्य विषय नै भयो।
पुलहरूको अवस्था कुन शब्दावलीले वर्णन गराऊँ, गरिनसक्नु छ।
कालोपत्रे ठेक्का लाग्यो ढुक्क अब त बन्ने भयो, अहँ कहाँ भन्नु झन् खलपत्र।
हरे के गर्ने होला?
आइडिया ! दुई तिहाइको सरकार छ अब के को चिन्ता ?
उनले सुकेटार विमानस्थल विस्तार तथा कालोपत्रे सम्पन्न भए पनि नियमित उडान सञ्चालन हुन नसकेको बताए। यस्तै वर्षायाम सुरु भएसँगै सडकहरू हिलाम्मे बन्ने अवस्था रहेको उनको भनाइ थियो।
बहानन्द–दोभान सडक कालोपत्रे बजेट अभावका कारण ढिलाइ भएको, देउराली–तिलोक सडक अलपत्र परेको तथा हाङद्रुङ–फुङ्फुङ्गे, साप्लाखु–सुरुम्खिम र थर्पु–यामफुदिन सडकको अवस्था अत्यन्तै खराब रहेको सांसद थेवेले बताए।
सांसद थेवेले पाथिभरा सडक र जिल्लाका पुलहरूको अवस्थासमेत दयनीय रहेको उल्लेख गर्दै ठेक्का लागे पनि निर्माणको गति सुस्त भएको गुनासो गरे। ‘कालोपत्रेको ठेक्का लाग्यो, अब त बन्ने भयो भन्ने आशा हुन्छ, तर झन् खलपत्र बन्छ,’ उनले भने।
अन्त्यमा उनले सरकारमाथि व्यंग्य गर्दै भने, ‘हरे के गर्ने होला रु दुई तिहाइको सरकार छ, अब केको चिन्ता ?’




प्रतिक्रिया