काठमाडौं- नेकपा एमालेका सांसद गुरु बरालले नेपालमा सुर्तीजन्य पदार्थको प्रयोग डरलाग्दो रूपमा बढ्दै गएको भन्दै सरकारले कडा नियन्त्रण नीति अवलम्बन गर्नुपर्ने बताएका छन्।
जेठ १२ गते मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बरालले युवापुस्तामाझ चुरोट, खैनी, गुट्खा लगायत सुर्तीजन्य पदार्थको प्रयोग तीव्र रूपमा फैलिरहेको उल्लेख गरे। विद्यालय तथा कलेज तहका विद्यार्थी समेत यसको लतमा फस्नु चिन्ताजनक भएको उनको भनाइ थियो।
सांसद बरालले सुर्तीजन्य पदार्थकै कारण नेपालमा बर्सेनी हजारौं नागरिकले ज्यान गुमाइरहेको तथ्य प्रस्तुत गर्दै जनस्वास्थ्य जोगाउन कर वृद्धि प्रभावकारी उपाय हुने बताए। उनले विश्व स्वास्थ्य संगठनको सिफारिसअनुसार करको दायरा बढाएर उपभोग घटाउन सकिने धारणा राखे।
सांसद बरालले भने, ‘आज नेपालमा करिब ८५ लाखभन्दा बढी नेपाली सुर्तीजन्य पदार्थको असरबाट आक्रान्त छन्। १४ देखि २४ वर्ष उमेर समूहका स्कुल तथा कलेजमा अध्ययनरत करिब ८ लाख युवा यो लतमा फसेको छन्। सुर्तीजन्य पदार्थ सेवनकै कारण नेपालमा हरेक वर्ष करिब ३९ हजार नागरिकको मृत्यु भइरहेको छ।’
सांसद बरालले छिमेकी मुलुकहरूमा नेपालभन्दा धेरै कर लाग्ने गरेको उदाहरण दिँदै नेपालले पनि सुर्तीजन्य पदार्थ नियन्त्रणमा कडा नीति लिनुपर्ने बताए। सांसद बरालले कर वृद्धिबाट प्राप्त राजस्व स्वास्थ्य सेवा र जनचेतनामूलक कार्यक्रममा प्रयोग गर्न सरकारसँग आग्रह गरे।
सांसद बरालले भने, ‘भारतमा मात्र ५८, बङ्गलादेशमा ७३ प्रतिशत यो कर लाग्ने गरेको छ, नेपालमा मात्रै ४० प्रतिशत छ। त्यस अर्थमा यसलाई नियन्त्रण गर्न यो बढाउनुपर्छ।’




प्रतिक्रिया