काठमाडौँ- नेकपा (एमाले)की सांसद टुकाभद्रा हमालले गत भदौ २४ गते भएको घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेकी छन्।
जेठ १३ गते बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद हमालले उक्त घटनाबारे सत्यतथ्य सार्वजनिक गर्न सरकार तयार छ कि छैन भन्ने प्रश्न उठाइन्। उनले ‘भदौ २४ को घटनाको छानबिन हुन्छ कि हुँदैन ?’ भन्दै सरकारको ध्यानाकर्षण गराइन्।
सांसद हमालले घटनाबाट क्षति पुगेका संरचना पुनर्निर्माणका लागि सरकारसँग स्पष्ट योजना माग गर्दै ऐतिहासिक तथा राष्ट्रिय महत्वका भवनहरूको संरक्षणमा गम्भीर बन्न आग्रह गरिन्।
सांसद हमालले विशेषगरी देशको प्रमुख प्रशासनिक केन्द्र तथा ऐतिहासिक धरोहर रहेको सिंहदरबार पुनर्निर्माणको विषयमा सरकारको धारणा सार्वजनिक गर्न माग गरिन्।
उनले संसद्मा भनिन्, ‘नेपालीले एक हजार होइन, १० पनि होइन, एउटा मात्र सिंहदरबार चाहेका छन्, त्यो कहिले बन्छ ?’
उनको भनाइले ऐतिहासिक संरचनाको संरक्षण, पुनर्निर्माण र सरकारी प्रतिबद्धतामाथि प्रश्न उठेको छ।




प्रतिक्रिया