काठमाडौं-सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद श्रीराम न्यौपानेले बाँदर आतङ्क नियन्त्रणका लागि डमी बाघ प्रभावकारी उपाय हुन सक्ने बताएका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद न्यौपानेले तनहुँका एक किसानको उदाहरण प्रस्तुत गर्दै आधुनिक प्रविधिसहितको डमी बाघ प्रयोग गरेर अन्नबाली जोगाउन सकिने बताएका हुन्।
सांसद न्यौपानेले तनहुँको शुक्लागण्डकी नगरपालिका-३ का किसान पहलसिंह गुरुङको सुन्तला बगानमा १२ सय रुपैयाँमा किनिएको डमी बाघ राख्दा दुई सिजनसम्म बाँदरबाट सुन्तला जोगाउन सफल भएको अनुभव संसदमा सुनाए।
उनका अनुसार पहिलो वर्ष डमी बाघ राखेपछि बाँदर बगानमा नै नआएको र दोस्रो वर्ष भने दैनिक स्थान परिवर्तन गर्नुपरेको थियो। तेस्रो वर्ष बाँदरले उक्त डमी बाघलाई टेर्न थाले पनि दुई वर्षसम्म उल्लेखनीय रूपमा बाली जोगाउन सफल भएको उनले बताए।
सांसद न्यौपानेले बाँदर नियन्त्रणका लागि चलायमान डमी बाघ, सेन्सरयुक्त गर्जन, बाघको गन्ध आउने सेन्ट तथा चम्किलो बत्ती जस्ता प्रविधि प्रयोग गर्न सकिने उल्लेख गरे। उनले बाँदर मार्ने नभई वैज्ञानिक र मानवीय ढङ्गले नियन्त्रण गर्नुपर्नेमा जोड दिए।
प्रतिनिधिसभामा बोल्दै उनले किसानहरू बाँदर आतङ्कका कारण खेतबारीमै कुरुवा बस्न बाध्य भएको उल्लेख गरे। मकै, सुन्तला, तरकारीलगायतका बाली नष्ट हुँदा कतिपय किसान बसाइँसराइ गर्न बाध्य भएको उनको भनाइ थियो।
न्यौपानेले सरकारसँग तत्काल राष्ट्रिय बाँदर व्यवस्थापन नीति ल्याउन, बाँदर प्रभावित क्षेत्रलाई विशेष बाँदर सुरक्षा क्षेत्र घोषणा गर्न तथा आधुनिक प्रविधिमा आधारित नियन्त्रण प्रणाली लागू गर्न माग गरे।
त्यस्तै उनले भारतलगायत अन्य मुलुकको अभ्यास अध्ययन गरी बाँदरको बन्ध्याकरणसम्बन्धी कार्यक्रम सञ्चालन गर्न पनि सरकारलाई सुझाव दिए।




प्रतिक्रिया