काठमाडौँ– प्रतिपक्ष दल नेकपा एमालेकी सांसद नीता घतानीले प्रधानमन्त्री बालेन्द्र शाहले लोकतन्त्रको अपमान गरिरहेको आरोप लगाएकी छन्।
बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद घतानीले जनताको प्रश्नको जवाफ दिनबाट प्रधानमन्त्री शाह पन्छिन खोजेको भन्दै आपत्ति जनाइन्। सांसद घतानीले सरकारप्रति प्रश्न उठाउन नहुने खालको प्रवृत्ति संसद्मा विकसित हुँदै गएको भन्दै त्यसप्रति असन्तुष्टि व्यक्त गरिन्।
सांसद घतानीले लोकतन्त्र अन्ध समर्थनको व्यवस्था नभएको बताउँदै सांसदहरू जनताको प्रत्यक्ष आवाज भएकाले सरकारलाई निरन्तर जवाफदेही बनाउनुपर्ने धारणा राखिन्।
बैठकमा बोल्दै सांसद घतानीले भनिन्, ‘देशमा लोकतन्त्रका लागि एउटा घातक प्रवृत्ति देखिँदै गएको छ। सरकारलाई प्रश्न गर्न नहुने मानसिक विकास हुँदै गएको छ। प्रश्न गर्नेहरूलाई नै गलत साबित गर्ने प्रयास भइरहेका छन्। तर लोकतन्त्र अन्ध समर्थनको व्यवस्था होइन। नागरिकहरू ताली मात्रै बजाउने भिड पनि होइन। यहाँका सांसदहरू जनताका प्रत्यक्ष आवाज हुन्। सरकारलाई निरन्तर जवाफदेही बनाउने शक्ति हुन्।’
सांसद घतानीले प्रधानमन्त्री लोकप्रिय वा सरकार शक्तिशाली भए पनि सदन र जनताको प्रश्नभन्दा माथि कोही हुन नसक्ने उल्लेख गरिन्। आफ्नो कामप्रति विश्वास भए प्रधानमन्त्रीले सदनमा उपस्थित भएर उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने उनको भनाइ थियो।
सांसद घतानीले भनिन्, ‘यदि सरकारलाई आफ्नो कामप्रति विश्वास छ भने सम्माननीय प्रधानमन्त्रीज्यू सदनमा उपस्थित भएर जनताका प्रश्नको जवाफ दिन किन हच्किच्याउनु हुन्छ ? सत्ताको दम्भ दीर्घकालीन हुँदै हुँदैन। तर जनताको आवाज र लोकतन्त्र सधैँ जीवित रहन्छ। लोकतन्त्रको अपमान कदापि सह्य हुँदैन। प्रधानमन्त्रीज्यूलाई जनताको प्रश्नबाट भाग्न कति पनि छुट छैन।’




प्रतिक्रिया