अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बजेट- २०८३/०८४

सार्वजनिक यातायातमा पेट्रोलियम सवारीको प्रयोग विस्थापन गरिने

सार्वजनिक यातायातमा पेट्रोलियम सवारीको प्रयोग विस्थापन गरिने


काठमाडौं-सरकारले सार्वजनिक यातायातलाई व्यवस्थित, आधुनिक र वातावरणमैत्री बनाउने उद्देश्यसहित पेट्रोलियमबाट चल्ने सवारीसाधनलाई क्रमशः विस्थापन गर्ने नीति अघि बढाएको छ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले काठमाडौं उपत्यकाको सार्वजनिक यातायातलाई सुधार गर्दै विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्न ‘स्मार्ट अर्बन मोबिलिटी कार्यक्रम’ सञ्चालन गरिने बताएका हुन्।

अर्थमन्त्री वाग्लेले काठमाडौं उपत्यकामा सार्वजनिक यातायातलाई थप व्यवस्थित, सुरक्षित र प्रदूषणरहित बनाउने लक्ष्यसहित ईभी बस तथा विद्युतीय यातायात प्रणाली विस्तार गरिने बताए। सरकारले यस कार्यक्रममार्फत निजी सवारीको निर्भरता घटाउँदै सार्वजनिक यातायातलाई प्राथमिकतामा राख्ने नीति लिएको जनाएको छ।

अर्थमन्त्री वाग्लेले पर्यटकीय सहर पोखरामा समेत सार्वजनिक बसहरूलाई विद्युतीय सवारीमार्फत विस्थापन गर्ने योजना अघि सारिएको बताए। यसले पर्यावरण संरक्षणसँगै इन्धन आयात घटाउन र दिगो शहरी यातायात विकासमा सहयोग पुग्ने सरकारको अपेक्षा छ ।

सरकारले पछिल्ला वर्षहरूमा विद्युतीय सवारीसाधनमा कर सहुलियत, चार्जिङ स्टेशन विस्तार तथा हरित ऊर्जामैत्री यातायात प्रणालीलाई प्राथमिकतामा राख्दै आएको छ।