काठमाडौं-प्रतिनिधिसभाको बैठक कक्षको वेलमै सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबीच घम्साघम्सी भएको छ।
प्रतिनिधिसभाको नयाँ नियमावलीमा विपक्षीहरूले थप छलफल माग गरेपनि सभामुख डीपी अर्यालले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ पारित गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ पेस गरेपछि तनाव भएको हो।
सभामुखले प्रक्रिया अघि बढाए पनि विपक्षीहरू रोस्ट्रम घेर्न पुगेका थिए। तर सभामुखले निरन्तर बैठक सञ्चालन गरेका थिए।त्यसपछि सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबीच घम्साघम्सी गरेका हुन्।
नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले ‘संशोधनहरूलाई विषयगत समितिमा पठाइयोस्’ भनेर माग राखिन्। तर, सभामुखले दफावार छलफल सदनमै गरियोस् भन्ने कार्यसूची तय भएको र त्यसअनुसार अगाडि आएको भनेर सदन अगाडि बढाए ।
प्रतिनिधिसभा नियमावलीमा सत्तापक्ष र प्रतिपक्षी सांसदहरूले १३० वटा संशोधन दर्ता गराएका छन्। सांसदहरूले व्यक्तिगत र सामूहिक रूपमा ३५ वटा संशोधन राखेका छन्।
सभामुखले संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्न थालेपछि विपक्षी दलका सांसदहरू वेलमा पुगे। नाराबाजी गरे। सभामुखको भूमिका माथि प्रश्न उठाए ।
त्यसपछि सत्तापक्षकै सांसदहरू पनि वेलमा पुगेका हुन्। त्यसक्रममा संसद्को वेलमै सत्तापक्ष र विपक्षी सांसदहरूले एक अर्कोलाई औंला ठड्याएर चेतावनी दिए।
विपक्षी दलका एक जना सांसद रोष्ट्रम नजिक नै पुगिन्। मर्यादापालकले रोके।
रास्वपाका अशोक चौधरी पनि सिट माथि चढेर विपक्षी माथि जाइलाग्न खोजेका थिए। तर सत्तापक्षकै अन्य सांसदहरूले उनलाई रोके।
वेलमा सत्तापक्ष र विपक्षी सांसदहरूलाई छेकेर मर्यादापालक बसेका थिए। तैपनि उनीहरू एक अर्कोलाई ठेलेर सभामुखको भूमिको समर्थन र विरोध गर्न थाले ।
त्यसक्रममा सभामुखले पटक–पटक सदनको मर्यादा कायम राख्न आग्रह गरे। अन्तिममा सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
प्रतिनिधिसभा नियमावली आजै पास गर्ने सत्तारुढ दलको तयारी छ।












प्रतिक्रिया