काठमाडौँ-राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिबारे सदनमा आएर माफी माग्नुपर्ने बताएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै राप्रपाका संसदीय दलका नेता शाहीले प्रधानमन्त्रीले आइतबार दिएको अभिव्यक्ति रेकर्डबाट हटाउनसमेत माग गरे।
उनले प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको भन्ने दाबी गरेको उल्लेख गर्दै त्यसको स्पष्ट तथ्य र प्रमाण सार्वजनिक गर्न चुनौती दिए।
‘भारतको भूमि नेपालले कहाँ–कहाँ मिचेको छ ? त्यसको एक–एक तथ्य चाहियो। होइन भने प्रधानमन्त्री सदनमा आएर माफी माग्नुपर्यो,’ शाहीले भने।
शाहीले राष्ट्रिय सार्वभौमिकता र सीमा जस्ता संवेदनशील विषयमा प्रधानमन्त्रीबाट आएको अभिव्यक्ति गम्भीर भएको भन्दै तथ्यविहीन अभिव्यक्तिले जनतामा भ्रम सिर्जना गर्ने बताए। उनले प्रधानमन्त्रीले आफ्नो भनाइ पुष्टि गर्न नसके संसद् र नेपाली जनतासँग क्षमा माग्नुपर्ने धारणा राखे।
प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधिसभा बैठकमा नेपालले पनि केही स्थानमा भारतको भूमि मिचेको हुन सक्ने आशयको अभिव्यक्ति दिएका थिए। उक्त भनाइलाई लिएर विभिन्न राजनीतिक दलका नेताहरूले आपत्ति जनाउँदै आएका छन्।




प्रतिक्रिया