काठमाडौँ-प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले संसद्मा दिएको नेपाल-भारत सीमा सम्बन्धी अभिव्यक्तिको विरोध गर्दै राष्ट्रिय सभाका सांसदहरूले सोमबार नाराबाजी गरेका छन्।
सोमबार दोस्रो पटक सुरु भएको राष्ट्रिय सभाको बैठकमा सांसदहरू आ-आफ्नो स्थानबाट उठेर प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति विरोध जनाएका हुन्। आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिएका थिए।
उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै राष्ट्रिय सभाका सांसदहरूले प्रधानमन्त्रीले आफ्नो भनाइ फिर्ता लिएर सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेका छन्। विरोधका क्रममा उनीहरूले प्रधानमन्त्री शाहको राजीनामासमेत माग गर्दै नाराबाजी गरेका थिए।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठक सञ्चालनका लागि सहयोग गर्न सांसदहरूलाई आग्रह गरे पनि विरोध नरोकिएपछि बैठक प्रभावित भएको थियो।
सांसदहरूको नाराबाजी जारी रहेपछि अध्यक्ष दाहालले राष्ट्रिय सभाको बैठक स्थगित गरेका छन्। अब राष्ट्रिय सभाको अर्को बैठक जेठ १९ गते मंगलबार दिउँसो १ः१५ बजे बस्ने तय भएको छ।




प्रतिक्रिया