अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीले माफी नमागेसम्म संसद् चल्दैन: ऐन महर

प्रधानमन्त्रीले माफी नमागेसम्म संसद् चल्दैन: ऐन महर


काठमाडौँ– नेकपा (एमाले)का प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै माफी नमागेसम्म संसद् चल्न नदिने चेतावनी दिएका छन्।

जेठ १८ गते सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख सचेतक महरले प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा रहेका व्यक्तिले तथ्य र प्रमाणबिना हचुवाका भरमा राष्ट्रिय हितसँग जोडिएका विषयमा अभिव्यक्ति दिन नमिल्ने बताए।

उनले नेपालले कुनै पनि छिमेकी मुलुकको भूमि अतिक्रमण नगरेको उल्लेख गर्दै प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिएर राष्ट्रिय स्वाभिमानमाथि आघात पुर्‍याएको आरोप लगाए।

“नेपालले कसैको भूमि मिचेको छैन। इतिहास, तथ्य र प्रमाणले पनि यही कुरा पुष्टि गर्छ,” प्रमुख सचेतक भने, “प्रधानमन्त्रीले संसद् र नेपाली जनतासँग तत्काल माफी माग्नुपर्छ। माफी नआएसम्म संसद्को कारबाही सहज रूपमा अघि बढ्न सक्दैन।”

प्रमुख सचेतकले सीमा सम्बन्धी विषय अत्यन्त संवेदनशील भएकाले सरकार प्रमुखबाट जिम्मेवार र तथ्यपरक अभिव्यक्ति अपेक्षित हुने बताए। उनले प्रधानमन्त्रीको भनाइ संसद्को अभिलेखबाट हटाउनसमेत माग गरेका छन्।

प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि भारतका केही भूभाग अतिक्रमण गरेको भन्ने आशयको अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिपछि सत्ता र प्रतिपक्ष दुवै पक्षका सांसदहरूले विरोध जनाउँदै स्पष्टीकरण तथा माफीको माग गरिरहेका छन्।