काठमाडौं-नेकपा (एमाले) की सांसद नीता घतानीले जातीय विभेदका कारण दिपा नेपाली ५४ दिनदेखि सडकमा सत्याग्रहमा बस्न बाध्य भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले जातीय विभेदका कारण पीडित नागरिकहरूले अझै न्याय नपाएको र राज्य मौन दर्शक बनेर बसेको आरोप लगाइन्।
सांसद घतानीले सत्याग्रहमा रहेकी दिपा नेपालीलाई तत्काल वार्तामा बोलाई उनका माग सम्बोधन गर्न सरकारसँग माग गरिन्। उनले जातीय विभेदविरुद्ध बनेका कानुनहरू कडाइका साथ कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै अधिकार कागजमा मात्र सीमित हुनु राज्यको कमजोरी भएको बताइन्।
उनले नागरिक सडकमा सत्याग्रह गर्न बाध्य हुनु र सांसदहरूले बारम्बार संसद्मा आवाज उठाउनुपर्ने अवस्था सुशासनको असफलताको संकेत भएको उल्लेख गरिन्।
सदनमा बोल्दै उनले भनिन्, ‘सम्माननीय प्रधानमन्त्रीले नेपालले भारतको सीमा मिचेको देख्नुभयो। तर आफ्नै देशमा नागरिकहरू जातीय विभेदका कारण कोठा नपाएर ५४ दिनदेखि सडकमा सत्याग्रह गरेर बसेको पीडा देख्न सक्नुभएको छैन। सरकारसँग माग गर्छु, अब मौन दर्शक बनेर नबसोस्। सत्याग्रहमा बसेकी दिपा नेपालीलाई तत्काल वार्तामा बोलाइयोस्, उहाँका माग सम्बोधन गरियोस् र जातीय विभेदविरुद्धको कानुन कडाइका साथ लागू गरियोस्।’
उनले नागरिक सडकमा सत्याग्रह गर्ने र सांसद सदनमा पटक–पटक एउटै विषय उठाउन बाध्य हुने अवस्था कुनै सफल शासनको परिचय नभई राज्यको गम्भीर असफलताको संकेत भएको बताइन्। साथै, कानुन बने पनि व्यवहारमा विभेद कायम रहनु राज्यको कमजोरी भएको उनको भनाइ थियो।






प्रतिक्रिया