काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानमन्त्री बालेन्द्र साहले आम मतदाता, संसद् र जनमतको अपमान गर्ने काम गरिरहेको आरोप लगाएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकार र प्रधानमन्त्रीका पटक–पटकका गैरजिम्मेवार गतिविधिले जनमतको हुर्मत लिने तथा संसद्को गरिमा कमजोर बनाउने काम भइरहेको बताएका हुन्।
प्रमुख सचेतक महरले प्रधानमन्त्री र सरकारका राष्ट्रघाती कदमहरूले आफूलाई लज्जित र दुःखी बनाएको बताए। जनतासँग काम गरेर देखाउने प्रतिबद्धतासहित सत्तामा पुगेको नयाँ दलको सरकारले अहिले जनविरोधी र देशविरोधी गतिविधि गरिरहेको देख्दा दुःख लागेको उनको भनाइ थियो।
उनले प्रधानमन्त्रीले संसद्मा दिएको अभिव्यक्तिप्रति प्रश्न उठाउँदै विश्वका कुनै पनि सरकार प्रमुखले नबोलेका कुरा नेपालको प्रधानमन्त्रीले सदनमा बोलेको दाबी गरे। त्यस्ता अभिव्यक्तिका बेला ताली बजाउने सांसदहरू को हुन् भन्ने प्रश्न जनताले उठाइरहेको उल्लेख गर्दै उनले यसले आफूहरूलाई गम्भीर र दुःखी बनाएको बताए।
नयाँ दल र प्रधानमन्त्रीको कार्यशैलीप्रति कटाक्ष गर्दै महरले ‘हामी नयाँ हौँ, कुरा होइन काम गर्न आएका हौँ’ भन्ने नाराले जनतालाई झुक्याउने काम भएको टिप्पणी गरे। पछिल्लो समय सरकार र प्रधानमन्त्रीका गतिविधिले जनतामा विश्वास घट्दै गएको उनको भनाइ थियो।
महरले वर्तमान सरकारले देश र जनतामाथि निरन्तर विश्वासघात गरिरहेको आरोप लगाउँदै यस्ता राष्ट्रघाती कदमप्रति संसद् र जनता सजग हुनुपर्नेमा जोड दिए। उनले सरकारका गतिविधिबारे स्पष्ट जवाफ दिन पनि माग गरे।






प्रतिक्रिया