अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अर्थमन्त्रीलाई निश्कल राईको प्रश्न– ‘कसको स्वार्थमा करका दर फेरिए ?’

अर्थमन्त्रीलाई निश्कल राईको प्रश्न– ‘कसको स्वार्थमा करका दर फेरिए ?’


काठमाडौँ-नेपाली कांग्रेसका सांसद निश्कल राईले सदनमा पेस भइसकेको आर्थिक विधेयकमा आफूखुसी करका दर हेरफेर गरेको भन्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि प्रश्न उठाएका छन्।

संसदमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्यय अनुमानमाथिको छलफलमा भाग लिँदै सांसद राईले अर्थमन्त्री वाग्लेकै विगतको भनाइ सापटी लिएर करको दर फेर्ने कार्यलाई ‘राजद्रोह’को संज्ञा दिएका हुन्।

विगतमा विपक्षी बेन्चमा हुँदा वर्तमान अर्थमन्त्रीले नै करको दर हेरफेरलाई ‘राजद्रोह’ भन्ने गरेको स्मरण गराउँदै राईले भने-‘अर्थमन्त्रीज्यूको कदम गैरकानुनी मात्र होइन, उहाँकै भाषामा भन्ने हो भने-उहाँ विपक्षी बेन्चमा हुँदै गर्दाखेरि भन्ने हो भने यो राजद्रोह सरह छ।’

अर्थमन्त्रीले सार्वजनिक आर्थिक विधेयक भने आफूखुसी पटक–पटक चलाएर गल्ती गरेको सांसद राईले दाबी गरे। सांसद राईले प्रश्न गरे, ‘कसको स्वार्थ र इशारामा करका दरहरू पटक–पटक परिवर्तन गर्नुभयो ? उनले थप भने, ‘संविधानको मर्मअनुसार कुनै पनि विधेयक संसदको सदनमा पेस भइसकेपछि त्यो सदनको सम्पत्तिको रूपमा रहन्छ। सरकारले त्यसलाई आफूखुसी बदल्न र सच्याउन पाउँदैन । अर्थमन्त्रीज्यू संसदभन्दा माथि हुनुहुन्न।’

सदनमा आएको विषय सदनबाटै सम्बोधन हुनुपर्नेमा कार्यकारिणी निर्णयबाट परिवर्तन गरिएको भन्दै उनले यसलाई ‘अक्षम्य गल्ती’ भनेका छन्। ‘कुनै पनि विधेयक सदनमा पेस भइसकेपछि त्यो संसद्को सम्पत्तिको रूपमा रहने व्यवस्था छ। सरकारले त्यसलाई आफूखुसी बदल्न वा सच्याउन पाउँदैन। अर्थमन्त्रीज्यू संविधानभन्दा माथि हुनुहुन्न,’ सांसद राईले भने ।

सानको पसिना बगेको चिया बगानका कारखानाहरू यही १ गतेबाट बन्द हुन लागेको र दुग्ध किसानका समस्या जस्ताको तस्तै रहेको भन्दै उनले चिन्ता व्यक्त गरे । गत वर्षको विपतबाट ११ अर्ब ८१ करोड भन्दा धेरै क्षति भई थिलथिलो भएको इलामको सन्दकपुरलाई बजेटले सम्बोधन नगरेको भन्दै उनले अर्थमन्त्रीको ध्यानाकर्षण गराए।

सरकारको कडा आलोचना गरेका सांसद राईले बजेटका केही सकारात्मक पक्षको भने प्रशंसा गरे । ५० अर्बभन्दा बढी ऋणमा डुबेको नेपाल एयरलाइन्सलाई कम्पनी मोडलमा लैजाने अर्थमन्त्रीको हिम्मतको उनले खुलेर तारिफ गरे।

Skip This