काठमाडौं- नेकपा (एमाले)का सांसद गुरु बरालले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले बजेटमा छेडखानी गरेको आरोप लगाउँदै यसबारे संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन्।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद बरालले विगतका घटनालाई देखाएर वर्तमानमा बजेटका दररेट हेरफेर गर्न नपाइने बताए। उनले अर्थमन्त्री वाग्लेले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा विगतका केही सन्दर्भ कोट्याएको उल्लेख गर्दै प्रतिपक्ष विगतका सबै विषयमा सत्यतथ्य छानबिन गर्न तयार रहेको बताए।
‘विगतका सबै घटनाहरूलाई दूधको दूध, पानीको पानी गरेर छुट्टाउनका लागि प्रतिपक्ष तयार छ,’ सांसद बरालले भने, ‘यदि विगतमा कमजोरी भएका छन् भने त्यसलाई सच्याउन पनि हामी तयार छौं।’
सांसद बरालले विगतका घटनालाई आधार बनाएर अहिलेको बजेटमा करका दररेट तथा राजस्व सम्बन्धी विषयमा छेडखानी गरिएको आरोप लगाए। उनले बजेटमा भएको भनिएको हेरफेरबारे गम्भीर छानबिन आवश्यक रहेको भन्दै सभामुखमार्फत् अर्थमन्त्रीको ध्यानाकर्षण गराउन माग गरे।
सांसद बरालले यस विषयलाई निष्पक्ष ढंगले टुंग्याउन संसदीय समिति गठन गरी छानबिन गर्नुपर्ने धारणा राखे। ‘एउटा संसदीय समिति मार्फत् मात्रै यो विषयलाई छानबिन गरेर निरूपण गर्नुपर्छ,’ सांसद बरालले भने, ‘अन्यथा यस्ता गलत अभ्यासले निरन्तरता पाउनेछन्। यसलाई सदाका लागि अन्त्य गर्न संसदीय छानबिन समिति गठन गरिनुपर्छ।’






प्रतिक्रिया