काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद तथा सचेतक खुस्बु ओलीले परराष्ट्रमन्त्री शिशिर खनालले भारत भ्रमणका क्रममा नेपाल-भारत सीमा विवादको विषय औपचारिक रूपमा नउठाएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भारतको दिल्ली भ्रमणका क्रममा भएका भेटवार्तामा परराष्ट्रमन्त्रीले सीमा विवादको विषयलाई बेवास्ता गरेको आरोप लगाइन्। उनका अनुसार नेपाली पक्षले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा समेत सीमा समस्याबारे कुनै उल्लेख गरिएको छैन।
‘दिल्ली भ्रमणका क्रममा भएका भेटवार्तामा परराष्ट्रमन्त्री शिशिर खनालले कतै पनि सीमाको विषय उठाउनु भएन। काठमाडौँबाट दिल्ली जाँदा पछि बोल्छु भन्नुभएको थियो, तर औपचारिक वार्तामा सीमा विवादको विषय उठाउनुभएन,’ सांसद ओलीले भनिन्।
उनले भ्रमणपछि दिल्लीमा पत्रकारहरूसँग केही धारणा राखिए पनि नेपाल फर्किएपछि सार्वजनिक गरिएको प्रेस नोटमा सीमा विवादबारे एक शब्द पनि नसमेटिएको बताइन्।
सांसद ओलीले सीमा व्यवस्थापन र सीमा विवाद दुई फरक विषय भएको उल्लेख गर्दै परराष्ट्रमन्त्रीले विवादित सीमाको विषयलाई छलेर नियमित सीमा व्यवस्थापन, जंगेपिलर मर्मत तथा बैठकजस्ता विषयमा मात्रै केन्द्रित भएको आरोप लगाइन्।
‘सीमा व्यवस्थापन र सीमा विवाद फरक कुरा हुन्। विगत चार वर्षमा नेपालको प्रेस नोटमा कुनै न कुनै रूपमा सीमा विवादको विषय समेटिने गरेको थियो, तर पहिलोपटक त्यो विषय हटाइएको छ,’ उनले भनिन्।
उनले परराष्ट्रमन्त्रीलाई आगामी चीन भ्रमणका क्रममा नेपालका दाबी रहेका लिपुलेक र कालापानी नेपालको भूभाग भएको विषय स्पष्ट रूपमा उठाउन तथा प्रेस नोटमा समेत समावेश गर्न सुझाव दिइन्।






प्रतिक्रिया