अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अर्थमन्त्री वाग्लेको सांसदहरूलाई आग्रह: ‘बजेटको पातलो पुस्तिका पढेर आउनुभएको भए हुन्थ्यो’

अर्थमन्त्री वाग्लेको सांसदहरूलाई आग्रह: ‘बजेटको पातलो पुस्तिका पढेर आउनुभएको भए हुन्थ्यो’


काठमाडौं-अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनियोजन विधेयकबारे विस्तृत अध्ययन गरेर मात्र धारणा बनाउन सांसदहरूलाई आग्रह गरेका छन्।

शुक्रबार प्रतिनिधिसभामा बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले कतिपय सांसदहरूले विनियोजन विधेयकको ‘पातलो पुस्तिका’ समेत नहेरी टिप्पणी गरेको जस्तो देखिएको बताए।

उनले भने, “किताब पाएको भए पनि त्यसको शेरोफेरोमा रहेर टिप्पणी गर्नुको सट्टा समग्र बजेट विनियोजन र प्रस्तुत विवरण सुनेर मात्र धारणा बनाइएको जस्तो लाग्यो।”

आदिवासी जनजातिका लागि बजेट विनियोजन नगरिएको भन्ने आरोपको खण्डन गर्दै अर्थमन्त्री वाग्लेले अनुसूची–२ मै सम्बन्धित शीर्षकअन्तर्गत आवश्यक बजेटको स्पष्ट व्यवस्था गरिएको बताए। दस्तावेज अध्ययन गरेर छलफल भएको भए बहस अझ तथ्यपरक र केन्द्रित हुने उनको भनाइ थियो।

सांसदहरूले उठाएका विकास निर्माणसम्बन्धी चासो र सुझावलाई आगामी मन्त्रालयगत छलफलमा विस्तृत रूपमा उठाउन सकिने उनले बताए। शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार तथा खानेपानीलगायत मन्त्रालयका विनियोजनमाथि हुने छलफलमा सम्बन्धित मन्त्रीहरू स्वयं उपस्थित रहने भएकाले त्यहाँ विषयगत बहस गर्न उपयुक्त हुने उनको भनाइ छ।

“धेरै माननीयज्यूहरूले विकास निर्माणका विषयमा चासो राख्नुभएको छ। अब मन्त्रालयगत विनियोजनमाथिको छलफलमा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, खानेपानीलगायत मन्त्रालयका मन्त्रीहरूसामु ती विषय उठाउन सकिनेछ,” उनले भने।

अर्थमन्त्री वाग्लेले बजेटमाथिको बहसलाई तथ्य र दस्तावेजमा आधारित बनाउन आग्रह गर्दै सांसदहरूलाई विनियोजन विधेयकको विस्तृत अध्ययन गर्न पुनः अनुरोध गरे।

Skip This