अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अर्थमन्त्रीको कुरा फेरियो, भनाइ र गराइमा मेल देखिएन: रामकुमारी झाँक्री

अर्थमन्त्रीको कुरा फेरियो, भनाइ र गराइमा मेल देखिएन: रामकुमारी झाँक्री


काठमाडौं-नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले सरकारले ल्याएको बजेट र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको कार्यशैलीमाथि प्रश्न उठाएकी छन्।

शुक्रबार राष्ट्रियसभामा बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै झाँक्रीले अर्थमन्त्रीका अभिव्यक्ति विरोधाभासपूर्ण रहेको र तथ्यांकगत यथार्थलाई ढाकछोप गर्न खोजिएको आरोप लगाइन्। उनले सरकारका गतिविधि ‘छलकपटपूर्ण’ देखिएको टिप्पणीसमेत गरिन्।

झाँक्रीले अर्थमन्त्रीले विगतमा व्यक्त गरेका धारणा र अहिलेको व्यवहारबीच ठूलो अन्तर देखिएको बताइन्। ‘अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्,’ उनले भनिन्, ‘अहिले ऋण लिनुलाई अनिवार्य सर्तका रूपमा व्याख्या गरिएको छ। भनाइ र गराइमा एकरूपता देखिएन।’

उनले मन्त्री नहुँदा ऋण लिएर व्यक्तिले खल्तीमा हालेको जस्तो टिप्पणी गर्ने अर्थमन्त्रीले अहिले ऋणलाई राज्य सञ्चालनको अनिवार्य सर्तका रूपमा व्याख्या गर्नु नसुहाउने बताइन्।

‘अर्थमन्त्री आज ऋणबिना राज्य चल्दैन भन्दै हुनुहुन्छ। विगतमा ऋण लिनुलाई गलत भन्ने र अहिले ‘ऋण अनिवार्य सर्त हो’ भन्नु विरोधाभासपूर्ण छ,’ उनले भनिन्, ‘मेरो आमाको घरेलु अर्थशास्त्रले पनि यस्तो उल्टो कुरा बुझ्दैन।’

झाँक्रीले आफूलाई नयाँ शक्ति र नयाँ पात्रका रूपमा प्रस्तुत गर्नेहरू व्यवहारमा भने पुरानै शैलीमा अघि बढिरहेको आरोप लगाइन्। उनले अर्थमन्त्री योजना आयोगको सदस्य र उपाध्यक्ष भइसकेको व्यक्ति भएकाले आफूलाई नयाँ भनेर प्रस्तुत गर्न नमिल्ने जिकिर गरिन्।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी का सांसद तथा मन्त्रीहरूलाई पनि आफ्नो विगतको भूमिका र जिम्मेवारी समीक्षा गर्न आग्रह गरिन्।

Skip This