काठमाडौँ-राष्ट्रियसभाका सदस्यहरूले आर्थिक वर्ष २०८३/८४को प्रस्तुत बजेटलाई जनता केन्द्रित बनाउन सुझाव दिएका छन् ।
राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै सांसद नारायणदत्त मिश्रले नेपालमा अर्थतन्त्रमाथि अनेकौँ चुनौती रहेकाले त्यसलाई सम्बोधन गर्ने बजेट परिमार्जन गर्न सरकारलाई सुझाव दिए।
सांसद झक्कुप्रसाद सुवेदीले सीमान्तकृत समुदायमैत्री बजेट हुनुपर्नेमा जोड दिए। सांसद सम्झना देवकोटाले प्रस्तुत बजेट चालु आवको बजेटको संशोधित आकारभन्दा २५.२ प्रतिशतले वृद्धि हुनु आफैँमा महत्वकाङ्क्षी भएको जनाए। सांसद मोहम्मद खालिदले आगामी आवको बजेटले महँगी बढाउने र जनतामा मर्कामा पर्न सक्ने अवस्था देखिएको बताए।
सांसद ललितजङ्ग शाहीले गरिबीको रेखामुनि रहेका जनताको शिक्षा र स्वास्थ्य निःशुल्क बनाउन बजेट केन्द्रित हुनुपर्नेमा धारणा राखे । सांसद सुरेशकुमार आलेमगरले बजेटले राखेको सात प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न मिहिनेत गर्नुपर्ने बताए। सांसद रामकुमारी झाँक्रीले बजेटले मुलुकको व्यावहारिक समस्या समाधान गर्न सक्नेमा आशङ्का व्यक्त गरे। सांसद दुर्गा गुरुङले बजेटले स्वदेशमै रोजगारी सृजना गर्नेतर्फ बाटो देखाउनुपर्नेमा त्यो हुन नसकेको बताए । सांसद नरबहादुर विष्टले नेपाली समाजको आवश्यकतालाई सम्बोधन गर्न सक्नुपर्ने धारणा राखे ।
सांसद सोमनाथ पोर्तेलले दलित समुदायसँग माफी माग्ने र सुधारका कार्यक्रम ल्याउने बाचा पूरा गर्न आग्रह गरे। सांसद राजेन्द्रलक्ष्मी गैरेले महिलाका दबिएका आवाजलाई सम्बोधन गर्ने कार्यक्रमसहित बजेट परिमार्जन गर्न सुझाव दिए। सांसद रोशनी मेचेले पुँजीगतभन्दा पनि चालु खर्च बढी हुँदा विकास निर्माणको अपेक्षा पूरा हुन नसक्ने बताए। ।
बैठकमा सांसद विष्णुकुमारी सापकोटा, वासुदेव घिमिरे, भुवनबहादुर सुनार, गीता देवकोटा, विष्णुबहादुर विश्कर्मा, श्रीकृष्णप्रसाद अधिकारीलगायतले बजेटलाई जनमुखी बनाउनुपर्ने धारणा राखे ।
आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहेकाले सभाको अर्को बैठक असार १ गते दिउँसो १ः१५ बजे बस्नेछ।






प्रतिक्रिया