अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

परराष्ट्रमन्त्रीको ‘अतितको बोझ बोक्न सक्दैनौँ’ अभिव्यक्तिबारे एमालेको जवाफ माग

परराष्ट्रमन्त्रीको ‘अतितको बोझ बोक्न सक्दैनौँ’ अभिव्यक्तिबारे एमालेको जवाफ माग


काठमाडौँ-प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले भारत भ्रमणका क्रममा परराष्ट्रमन्त्री शिशिर खनालले दिएको ‘अतितको बोझ बोक्न सक्दैनौँ’ भन्ने अभिव्यक्तिबारे संसद्मा स्पष्ट जवाफ माग गरेको छ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले परराष्ट्रमन्त्रीले भारत भ्रमणका क्रममा व्यक्त गरेको भनिएको अभिव्यक्तिले गम्भीर प्रश्न उठाएको बताइन्।

अर्यालले भारतीय समकक्षीसँगको भेटका क्रममा ‘इतिहासको बोझ बोक्न सक्दैनौँ’ भन्ने अभिव्यक्ति आएको विषय सार्वजनिक भएको उल्लेख गर्दै त्यसको वास्तविक अर्थबारे सरकार स्पष्ट हुनुपर्ने माग गरिन्।

‘परराष्ट्रमन्त्रीले भारत भ्रमणका क्रममा भारतीय समकक्षीसँग बस्दा इतिहासको बोझ बोक्न नसक्ने बताउनुभएको कुरा आएको छ,’ उनले भनिन्, ‘पारि बाघ कराएको यता बाख्रो हराएको जस्तो भएको छ। अतितको बोझ बोक्न सक्दैनौँ भनेर के विषय भन्न खोज्नुभएको हो, त्यसको जवाफ माग्न चाहन्छौँ।’

उनले उक्त अभिव्यक्ति नेपालको राष्ट्रिय हित र सीमा सम्बन्धी मुद्दासँग जोडिएको हो कि होइन भन्ने आशंका पनि व्यक्त गरिन्। विशेषगरी कालापानी, लिपुलेकलगायतका भूभागमा नेपालको दाबीलाई लिएर सरकारले आफ्नो अडान परिवर्तन गर्न खोजेको हो कि भन्ने प्रश्न उठेको उनको भनाइ थियो।

अर्यालले ‘कालापानी–लिपुलेकलगायतका जमिनबारे नेपालको दाबीलाई बोक्न सक्दैनौँ भनेर परराष्ट्रमन्त्रीले भन्न खोज्नुभएको हो ?’ भन्दै सरकारसँग स्पष्ट धारणा सार्वजनिक गर्न माग गरिन्।

एमालेले परराष्ट्र नीतिजस्तो संवेदनशील विषयमा मन्त्रीको अभिव्यक्तिले राष्ट्रिय हितसँग सम्बन्धित विषयमा अन्योल सिर्जना गरेको भन्दै संसद्मार्फत स्पष्टीकरण दिन सरकारलाई आग्रह गरेको छ।

Skip This