काठमाडौं-श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्तिलाई प्रतिनिधिसभाको रेकर्डबाट हटाउन पुनः माग गरेका छन् ।
सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै अध्यक्ष साम्पाङले उक्त विषयमा यसअघि नै रेकर्ड हटाउन माग गरिएको भए पनि सभामुखबाट अहिलेसम्म कुनै स्पष्ट निर्णय नआएको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले संवेदनशील राष्ट्रिय विषयमा दिइएका अभिव्यक्तिले संसद्को गरिमा तथा राष्ट्रिय हितमा असर पार्न सक्ने भएकाले तत्काल निर्णय आवश्यक रहेको बताए।
सभामुखलाई सम्बोधन गर्दै सांसद साम्पाङले प्रधानमन्त्रीको अभिव्यक्तिलाई संसद्को रेकर्डबाट कहिले हटाइने भन्ने विषयमा स्पष्टता दिन आग्रह गरे।’प्रधानमन्त्रीज्यूले दिनुभएको अभिव्यक्तिलाई संसद्को रेकर्डबाट हटाइयोस् भन्ने हाम्रो माग थियो, सभामुखज्यूले त्यो कहिले हटाउने आदेश दिनुहुन्छ भनेर हामी प्रतीक्षामा छौँ,’ उनले भने।
२०८३ जेठ १७ गते प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको केही सिमाना मिचेको छ भन्ने आशयको अभिव्यक्ति दिनुभएको विषयले राजनीतिक वृत्तमा विवाद उत्पन्न गरेको थियो। उक्त अभिव्यक्तिपछि विभिन्न राजनीतिक दल तथा सरोकारवालाहरूले आलोचना गर्दै आएका छन्।
सोही विषयलाई लिएर श्रम संस्कृति पार्टीले निरन्तर आपत्ति जनाउँदै आएको छ। संसद्ले हालसम्म स्पष्ट निर्णय नगरेको भन्दै पार्टीले प्रधानमन्त्रीको अभिव्यक्ति प्रतिनिधिसभाको आधिकारिक रेकर्डबाट हटाउन पुनः माग गरेको हो।






प्रतिक्रिया