काठमाडौं-नेकपा (एमाले)की सांसद गंगादेवी श्रेष्ठले आगामी आर्थिक वर्षको बजेटमा वृद्धभत्ता नबढाइएको भन्दै सरकारको आलोचना गरेकी छन्।
सोमबार प्रतिनिधिसभामा बजेटमाथिको मन्त्रालयगत छलफलमा बोल्दै सांसद श्रेष्ठले सरकारले वृद्धवृद्धाप्रति उपेक्षापूर्ण व्यवहार गरेको आरोप लगाइन्। सांसद श्रेष्ठले कर्मचारीको तलब वृद्धि गरिए पनि वृद्धभत्ता नबढाइएकोप्रति असन्तुष्टि व्यक्त गर्दै वृद्धवृद्धाको सम्मान गर्न सरकार असफल भएको बताइन्।
‘वृद्धवृद्धाको सम्मान त के, अनुहार हेर्न पनि चाहँदैन। छोराछोरीको अनुरोधमा मत दिने वृद्धवृद्धालाई पनि थाहा भयो। कर्मचारीको तलब बढेको छ तर वृद्धवृद्धाको भत्ता बढेन। सय रुपैयाँ मात्र बढाएको भए पनि बुबाआमालाई केही राहत मिल्थ्यो,’ सांसद श्रेष्ठले भनिन्।
सरकारले स्वेच्छिक रूपमा वृद्धभत्ता त्याग गर्न सकिने व्यवस्था ल्याएको उल्लेख गर्दै श्रेष्ठले मन्त्रीहरूलाई नै भत्ता त्याग्न सक्नुहुन्छ भनेर प्रश्न गरिन्। ‘वर्षमा १ करोडभन्दा बढी आम्दानी हुने मन्त्रीहरूले भत्ता त्याग्न सक्नुहुन्छ ?’ भन्दै उनले सरकारको नीति दोहोरो भएको टिप्पणी गरिन्।
उनले गाउँघरमा वृद्धभत्ता लिने वृद्धवृद्धामाथि व्यङ्ग्य गर्न थालिएको भन्दै चिन्ता व्यक्त गरिन्। वृद्धभत्ता र उपचार खर्चको व्यवस्था एमाले नेतृत्वको सरकारले सुरु गरेको स्मरण गराउँदै उनले राजनीतिक पूर्वाग्रहका कारण वृद्धभत्ता नबढाइएको दाबी गरिन्।
सांसद श्रेष्ठले केही स्थानीय तहमा मात्र वृद्धाश्रम व्यवस्थापनका लागि बजेट विनियोजन गरिएको उल्लेख गर्दै सबै पालिकामा समान रूपमा बजेट किन नछुट्याइएको भन्ने प्रश्नसमेत उठाइन्। उनले वृद्धवृद्धाको सम्मान र सामाजिक सुरक्षाका कार्यक्रमलाई प्राथमिकतामा राख्न सरकारसँग माग गरिन्।






प्रतिक्रिया