काठमाडौँ-नेकपा (एमाले) राष्ट्रिय सभाकी सचेतक रोशनी मेचेले सुस्ता क्षेत्रमा सशस्त्र प्रहरी बलको स्थायी सीमा सुरक्षा क्याम्प स्थापना गर्न सरकारसँग माग गरेकी छिन्।
सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले नेपाली भूमिको सुरक्षा मजबुत बनाउन तत्काल कदम चाल्नुपर्ने सरकारसँग माग गरेकी हुन्।
सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बलले गस्ती गरेको भनिएको घटनाप्रति उनले आपत्ति जनाइन्।
प्रधानमन्त्री बालेन्द्र साहको अभिव्यक्तिपछि भारतीय सीमा सुरक्षा बलले सुस्ता क्षेत्रमा गस्ती गरेको भन्दै उनले आपत्ति जनाइन्। उक्त भूमिको सुरक्षाका लागि सरकारले तत्काल सशस्त्र प्रहरी बलको स्थायी क्याम्प खडा गरी नेपाली भूमिको रक्षा गर्नुपर्ने उनको भनाइ थियो।
बैठकमा बोल्दै सांसद मेचेले प्रधानमन्त्री साहले नेपालले पनि भारतको धेरै भूमि मिचेको भनी दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै तत्काल माफी माग्नसमेत सचेत गराइन्।
मेचेले सुगौली सन्धिलाई आधार मानेर सुस्ता क्षेत्रमा हराएको भनिएको करिब २४ किलोमिटर भूभागको विषयमा भारतसँग कूटनीतिक वार्ता अघि बढाउन सरकारलाई आग्रह गरिन्। उनले जेठ २९ गते भएको भनिएको सीमा घुसपैठ घटनालाई ध्यानमा राख्दै सुस्ता क्षेत्रमा २४ घण्टा सशस्त्र प्रहरी बलको स्थायी गस्ती र सीमा स्तम्भ स्थापनाको व्यवस्था गर्नुपर्ने माग गरिन्।
मेचेले भनिन्, ‘सुगौली सन्धिलाई अकाट्य कानुनी आधार मान्दै सुस्तामा हराएको २४ किलोमिटर क्षेत्रमा अवस्थित म्यापको आधारमा तत्काल स्थायी सीमा स्तम्भ गाड्न भारत सरकारसँग कूटनीतिक वार्ता कहिले सुरु हुन्छ सरकार ? जेठ २९ गतेका सीमा घुसपैठको घटनालाई मध्यनजर गर्दै सुस्ताको २४ किलोमिटर खुला सीमा क्षेत्रमा २४ घण्टा नै सशस्त्र प्रहरी बलको स्थायी गस्ती गर्ने व्यवस्था गरियोस्।’






प्रतिक्रिया