काठमाडौँ-नेपाली कांग्रेसकी सांसद रेखाकुमारी यादव ले पूर्वाधार विकासमन्त्री सुनिल लम्साल ले ठेकेदारको ‘खुट्टा भाँच्ने’ भन्दै दिएको अभिव्यक्ति कानुन र लोकतान्त्रिक मूल्यविपरीत भएको बताएकी छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद यादवले मन्त्रीहरू स्वयंले कानुनको सम्मान गर्नुपर्नेमा उल्टै धम्कीपूर्ण अभिव्यक्ति दिनु दुःखद भएको टिप्पणी गरिन्। उनले मन्त्री लम्सालको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै राज्य सञ्चालन गर्ने जिम्मेवारीमा रहेका व्यक्तिहरूले कानुनको पालना नगरे आम नागरिकले कसरी कानुन मान्ने भन्ने प्रश्न उठाइन्।
‘उहाँले खुट्टा भाँच्ने भन्नुभयो। देशमा नियम–कानुन छैन र ? उहाँहरूले नै देशको कानुन मान्नु भएन भने अरू कसले मान्छ ?’ सांसद यादवले सदनमा प्रश्न गरिन्।
यसअघि मन्त्री लम्सालले नौबिसे–मलेखु सडकखण्डमा बिजुलीका पोल स्थानान्तरण गर्ने जिम्मेवारी पाएका ठेकेदारप्रति आक्रोश व्यक्त गर्दै काम नगरे ‘खुट्टा भाँचिदिने’ अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्ति सार्वजनिक भएपछि त्यसको चौतर्फी आलोचना भइरहेको छ।
सांसद यादवले प्रधानमन्त्रीले सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्तिबारे पनि स्पष्ट जवाफ दिनुपर्ने माग गरिन्। प्रधानमन्त्रीको अभिव्यक्तिको विषयमा मन्त्रीले जवाफ दिन नमिल्ने उल्लेख गर्दै उनले प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित भएर धारणा सार्वजनिक गर्नुपर्ने बताइन्।
“मन्त्रीले विषयगत मन्त्रालयको मात्र जवाफ दिन्छन्। प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको जवाफ प्रधानमन्त्रीले नै दिनुपर्छ,” उनले भनिन्।
उनले सीमा सुरक्षासम्बन्धी विषयमा सरकारको ध्यानाकर्षण गराउँदै नेपाल–भारत सीमाक्षेत्रमा भइरहेका गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गरिन्। सुस्तालगायतका क्षेत्रमा नेपाली नागरिकले नै विदेशी सुरक्षा बलको गतिविधिविरुद्ध प्रतिरोध गर्नुपर्ने अवस्था सिर्जना भएको दाबी गर्दै उनले सरकारसँग जवाफ मागिन्।
“सीमामा जे भइरहेको छ, त्यसको जिम्मेवारी कसले लिने ? सुस्तामा एसएसबी आएर नेपाली नागरिकले धपाउनुपर्ने अवस्था आएको छ। दार्चुलामा नेपाली आकाशमा हेलिकोप्टर आएर आफ्नो काम गरेर जान्छ, त्यसको जवाफ कसले दिन्छ ?” उनले प्रश्न गरिन्।
सांसद यादवले सीमा सुरक्षा, राष्ट्रिय स्वाभिमान र कानुनी शासनजस्ता विषयमा सरकार गम्भीर बन्नुपर्ने आवश्यकता औँल्याउँदै संसद्मा स्पष्ट धारणा राख्न आग्रह गरिन्।






प्रतिक्रिया