काठमाडौँ-नेकपा (एमाले)का सांसद गुरुप्रसाद बरालले देशभरका हरेक स्थानीय तहका सामुदायिक विद्यालयमा कक्षा-११ र १२ मा विज्ञान सङ्काय अध्ययन–अध्यापनको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
सोमबार प्रतिनिधिसभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै सांसद बरालले विज्ञान तथा प्रविधि क्षेत्रको विकासका लागि हालसम्म निर्माण गरिएका पूर्वाधार पर्याप्त नभएको बताएका हुन्।
सांसद बरालले विज्ञान र प्रविधिको प्रबलीकरणका लागि पर्याप्त बजेट आवश्यक भए पनि सरकारले विनियोजन गरेको रकम अत्यन्त न्यून रहेको टिप्पणी गरे। ‘यस क्षेत्रका लागि केवल ४ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ, जुन आवश्यकताअनुसार पर्याप्त छैन,’ सांसद बरालले भने।
सांसद बरालले बजेटमा साधारण खर्चको हिस्सा बढी देखिए पनि अनुसन्धान, खोज तथा नवप्रवर्तनका क्षेत्रमा अपेक्षाअनुसार लगानी नभएको उल्लेख गरे। विज्ञान र प्रविधिको क्षेत्रमा सरकारले थप मेहनत र लगानी गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो।
मुलुकको आर्थिक विकास र समृद्धिको आधार विज्ञान तथा प्रविधिको विकास नै भएको उल्लेख गर्दै उनले यस क्षेत्रमा दीर्घकालीन योजना र पर्याप्त स्रोत सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराए।






प्रतिक्रिया