अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अर्थमन्त्रीले ल्याएको बजेटले देश बन्छ भन्ने विश्वास प्रधानमन्त्रीलाई पनि छैन: ऐन महर

अर्थमन्त्रीले ल्याएको बजेटले देश बन्छ भन्ने विश्वास प्रधानमन्त्रीलाई पनि छैन: ऐन महर


काठमाडौं-नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको कार्यशैली र आगामी आर्थिक वर्षको बजेटप्रति कडा आलोचना गरेका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै महरले अर्थमन्त्रीको व्यवहार, प्रस्तुति र बजेटको प्रभावकारितामाथि प्रश्न उठाए।

उनले अर्थमन्त्रीको ‘एटिट्युड’ र प्रस्तुति शैलीले आफूहरूलाई गम्भीर बनाएको बताउँदै भने, ‘अर्थमन्त्रीज्यूको एटिट्युडले हामीलाई असाध्यै गम्भीर बनायो। त्यसमा न विषयवस्तु छ, न देश विकास र जनताको हितमा परिवर्तन ल्याउने खालको कुनै स्पष्ट दृष्टिकोण नै देखिन्छ। विद्वान व्यक्तिमा हुनुपर्ने स्वभाव र शैली पनि उहाँमा देखिएन।’

महरले अर्थमन्त्रीले प्रतिपक्षी दलहरूलाई अपमानित गर्ने ढंगले प्रस्तुत हुने गरेको आरोप लगाए। उनले सरकारले ल्याएको बजेटलाई ‘हावादारी’को संज्ञा दिँदै यसले जनताको अपेक्षा सम्बोधन गर्न नसक्ने दाबी गरे।

‘यो बजेटले जनमतको अपमान गरेको छ। जनताले चाहेजस्तो विकास र परिवर्तनको आधार यसमा देखिँदैन,’ उनले भने।

महरले अर्थमन्त्रीमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागसमेत गरे। साथै उनले अर्थमन्त्रीलाई विगत ३५ वर्षका भ्रष्टाचार तथा अनियमिततासम्बन्धी फाइल खोल्न चुनौती दिए।

उनले प्रधानमन्त्रीले घोषणा गरेको ‘देश बनाउने टिम’ मा अर्थमन्त्री नपर्नुलाई समेत अर्थपूर्ण रूपमा टिप्पणी गर्दै बजेटप्रति प्रधानमन्त्री स्वयं विश्वस्त नरहेको संकेत भएको दाबी गरे।

‘अर्थमन्त्रीले ल्याएको बजेटले देश बन्छ भन्ने विश्वास प्रधानमन्त्रीलाई पनि छैन। प्रधानमन्त्रीले सार्वजनिक रूपमा घोषणा गरेको देश बनाउने टिममा अर्थमन्त्री नपर्नुले यही कुरा पुष्टि गर्छ,’ महरले भने।

Skip This