काठमाडौँ-प्रतिनिधि सभा बैठकमा दुई मन्त्रीले सभामुखको अपमान गरेको भन्दै प्रतिनिधि सभा बैठकमा प्रश्न उठेको छ। प्रतिनिधि सभाको मंगलबार बसेको दोस्रो बैठकको कारबाही सुरु गर्न सभामुख बैठक कक्षमा प्रवेश गर्दा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले अपमान गर्ने काम गरेको भन्दै प्रतिपक्षी दल नेकपा एमालेका ऐन महरले प्रश्न उठाएका हुन्।
बैठकमा सभामुख अर्याल प्रवेश गर्दा अर्थमन्त्री वाग्ले र पूर्वाधार विकासमन्त्री लम्साल आसनबाट उठेनन्। सोही विषयमा एमालेका प्रमुख सचेतक महरले नियमापत्ति जनाए।
सभामुख बैठक कक्षमा प्रवेश गर्दा सबै सांसदहरुले उठेर सभामुखको सम्मान गर्नुपर्ने प्रतिनिधि सभा नियमावली २०८३ को नियम २० को खण्ड ‘क’ मा उल्लेख छ। सो व्यवस्थाअनुसार दुई मन्त्रीहरूले सम्मान नगरेको प्रमुख सचेतक महरले बताए।
‘सम्मानीय सभामुख महोदय बैठककक्षमा प्रवेश गर्दैगर्दा दुई जना मन्त्रीज्यूले उठेर सम्मान गर्नुभएको छैन, बसिरहनुभएको छ । यसले हामीलाई चिन्तित र गम्भीर बनाएको छ। त्यो भिडियो चेक गरी रुलिङ गर्न अनुरोध गर्दछु,’ महरले भने।
उनले सदनमा मर्यादा पालना गर्न सबै जिम्मेवार हुनुपर्ने बताए। ‘सदनको गरिमा कायम राख्ने हामी सबैको अनिवार्य जिम्मेवारी र दायित्व हो । मर्यादा पालना गर्नेमा सबै जिम्मेवार बन्नुपर्छ,’ महरले भने।
यसअघि संसदमै अर्थमन्त्री वाग्लेले दिएको अभिव्यक्ति विवादमा तानिएको थियो। मन्त्री वाग्लेले केही दिनअघि करका दरमा हेरफेर भएकोबारे प्रतिपक्षले प्रश्न गर्दा प्रश्न उठाउने सांसद र पार्टीकै काण्ड छानबिन गर्ने धम्की दिएका थिए।
त्यस्तै, मन्त्री लम्सालले दुई दिनअघि ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्ति पनि विवादमा तानिएको छ। आइतबार नागढुंगा–मुग्लिङ सडक योजनाको निरीक्षण क्रममा त्यहाँ पुगेर मन्त्री लम्सालले बिजुलीको पोल नसार्ने ठेकेदारको खुट्टा भाँच्न निर्देशन दिएका थिए।
नियमावलीमा यस्तो व्यवस्था छ-







प्रतिक्रिया