काठमाडौं-प्रतिनिधिसभा बैठकमा मंगलबार मन्त्रालयगत बजेटमाथिको छलफलका क्रममा नेकपा (एमाले)का सांसदहरूले सरकारको कार्यशैली, मन्त्रीहरूको संसद् उपस्थितिलगायत विषयमा कडा प्रश्न उठाएका छन्। मन्त्रीहरूको अनुपस्थितिदेखि बजेटको प्रभावकारिता र विज्ञान शिक्षाको विस्तारसम्मका विषयमा एमाले सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका हुन्।
मन्त्री अनुपस्थितिमाथि सांसद राईको आक्रोश: ‘संसदप्रति सरकार किन गैरजिम्मेवार ?’
नेकपा (एमाले)का सांसद राजेन्द्र राईले मन्त्रालयगत बजेटमाथिको छलफलमा आज सम्बन्धित मन्त्रीहरू अनुपस्थित भएको भन्दै आपत्ति जनाएका थिए। विज्ञान, प्रविधि तथा नवप्रवर्तन, कानुन, पूर्वाधार विकास, गृह, ऊर्जा, परराष्ट्र, अर्थ तथा रक्षा मन्त्रालयका शीर्षकमाथि छलफल चलिरहेका बेला केही मन्त्री अनुपस्थित भएपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो।
‘१५ मिनेट सदन स्थगित भयो, केका लागि भएको थियो ?’ भन्दै प्रश्न गरेका उनले संसद्लाई निरन्तर बेवास्ता गरिएको आरोप लगाए।
तर स्थगनपछि पनि गृहमन्त्री सुधन गुरुङ र कानुनमन्त्री सोबिता गौतम अनुपस्थित रहेपछि सांसद राईले रोस्ट्रममा उभिएर असन्तुष्टि व्यक्त गरे। सबै मन्त्री उपस्थित नभएसम्म आफूले विषयवस्तुमाथि बोल्न नसक्ने भन्दै उनले संसद्लाई निरन्तर उपेक्षा गरिएको आरोप लगाए।
सभामुख डोलप्रसाद (डीपी) अर्यालले विषयमा केन्द्रित हुन आग्रह गरे पनि राईले संसद्को गरिमामाथि प्रश्न उठाउँदै सरकारको रवैयाप्रति आपत्ति जनाए।
‘थिति बसालौँ। तपाईंहरूले बारम्बार हामीलाई हेप्नुभएको छ। अझै कति हेप्नुहुन्छ ? यहाँभन्दा हेप्ने ठाउँ छ ? यो मिल्दैन सभामुख महोदय,’ उनले भने।
सांसद राईले मन्त्रीहरू संसद्प्रति जिम्मेवार र उत्तरदायी हुनुपर्ने उल्लेख गर्दै संकटका बेला मात्र सांसदहरूको सहयोग खोज्ने तर संसद्को नियमित प्रक्रियामा बेवास्ता गर्ने प्रवृत्ति स्वीकार्य नहुने बताए। उनले सरकारलाई जिम्मेवार बन्न आग्रह गरे। उनले आफूले उठाएको विषय नियमावलीविपरीत भए स्पष्ट रूपमा जानकारी गराउन सभामुखसँग आग्रहसमेत गरेका थिए।
अर्थमन्त्रीको बजेटले देश बन्छ भन्ने विश्वास प्रधानमन्त्रीलाई पनि छैन: ऐन महर
एमालेका प्रमुख सचेतक ऐन महरले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको कार्यशैली र आगामी आर्थिक वर्षको बजेटप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्।
प्रतिनिधिसभामा बोल्दै महरले अर्थमन्त्रीबाट आमूल परिवर्तन ल्याउने खालको बजेट आउने अपेक्षा गरिए पनि प्रस्तुत बजेटले त्यो आशा पूरा गर्न नसकेको बताए। उनले अर्थमन्त्रीको व्यवहार र प्रस्तुति शैलीमाथि प्रश्न उठाउँदै प्रतिपक्षप्रति अपमानजनक ढंगले प्रस्तुत भएको आरोप लगाए।
‘विद्वान अर्थमन्त्रीबाट धेरै अपेक्षा थियो, तर बजेटको सार चित्तबुझ्दो लागेन,’ उनले भने।
महरले बजेटलाई ‘गैरजिम्मेवार’ र ‘हावादारी’को संज्ञा दिँदै यसले गरिब, विपन्न, महिला, बालबालिका, दलित तथा पछाडि पारिएका समुदायका आवश्यकता सम्बोधन गर्न नसकेको दाबी गरे। उनले अर्थमन्त्रीमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागसमेत गरे।
प्रधानमन्त्रीले सार्वजनिक रूपमा घोषणा गरेको ‘देश बनाउने टिम’ मा अर्थमन्त्री नपर्नुलाई अर्थपूर्ण रूपमा व्याख्या गर्दै उनले प्रधानमन्त्री स्वयं पनि बजेटप्रति विश्वस्त नरहेको संकेत भएको टिप्पणी गरे। ‘अर्थमन्त्रीले ल्याएको बजेटले देश बन्छ भन्ने विश्वास प्रधानमन्त्रीलाई पनि छैन,’ महरले बताए।
सबै स्थानीय तहका विद्यालयमा विज्ञान सङ्काय सञ्चालन गर्न सांसद बरालको माग
एमाले सांसद गुरुप्रसाद बरालले देशभरका सबै स्थानीय तहका सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान सङ्काय सञ्चालन गर्न सरकारसँग माग गरेका छन्।
मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै उनले विज्ञान तथा प्रविधि क्षेत्रको विकासका लागि हालसम्म भएका प्रयास पर्याप्त नभएको बताए। विज्ञान तथा प्रविधि मन्त्रालयका लागि विनियोजन गरिएको करिब ४ अर्ब रुपैयाँ बजेट आवश्यकता अनुसार निकै कम रहेको उनको भनाइ थियो।
बरालले अनुसन्धान, खोज तथा नवप्रवर्तनका क्षेत्रमा पर्याप्त लगानी नभएको उल्लेख गर्दै विज्ञान र प्रविधिको विकासलाई राष्ट्रिय समृद्धिको आधारका रूपमा लिनुपर्ने बताए। उनले विज्ञान शिक्षाको पहुँच देशभर विस्तार गर्न सरकारलाई विशेष योजना ल्याउन आग्रह गरे।
प्रतिनिधिसभाको मंगलबारको छलफलमा एमाले सांसदहरूले सरकारको संसद्प्रतिको उत्तरदायित्व, बजेटको प्रभावकारिता तथा विज्ञान–प्रविधि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने आवश्यकता जोडदार रूपमा उठाएका छन्।






प्रतिक्रिया