अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग गर्दै संसदमा विपक्षीको विरोध कायमै

प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग गर्दै संसदमा विपक्षीको विरोध कायमै


काठमाडौँ-विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त अभिव्यक्ति सच्याउन र संसद्को अभिलेखबाट हटाउन सभामुखको रुलिङ माग गरेका छन्।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपाका सांसद गोपाल शर्माले प्रधानमन्त्रीले नै गैरजिम्मेवार अभिव्यक्ति दिने प्रवृत्तिले सरकारका अन्य मन्त्रीहरूलाई समेत त्यस्ता अभिव्यक्तिमा प्रतिस्पर्धा गर्न प्रेरित गरेको आरोप लगाए।

उनले अर्थमन्त्रीले संसद्को रोष्ट्रमबाट सांसदहरूलाई धम्की दिने र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले ठेकेदारको खुट्टा भाँच्ने जस्ता अभिव्यक्ति दिएको उल्लेख गर्दै सरकारभित्र गैरजिम्मेवार अभिव्यक्तिको प्रतिस्पर्धा चलिरहेको बताए।

“आज दण्डहीनताले प्रश्रय पाइरहेको छ। मन्त्रीहरूले कानुन कार्यान्वयन गर्नुपर्ने हो कि होइन भन्ने प्रश्न उठेको छ,” शर्माले भने।

उनले सरकार कानुन कार्यान्वयनमा कमजोर देखिएको टिप्पणी गर्दै टेम्पो जङ्गलमा पाल्ने, काफल फाल्ने लगायतका घटनाले पनि सरकारको कार्यशैलीमाथि प्रश्न उठाएको बताए।

यसैबीच, श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले सुकुम्वासी तथा अव्यवस्थित बसोबासीका लागि स्थापना गरिएका होल्डिङ सेन्टरमा आधारभूत सुविधाको अभाव रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए।

उनले होल्डिङ सेन्टरमा खाना र पिउने पानीको अभावका कारण आन्दोलन भइरहेको उल्लेख गर्दै आगामी बजेटमार्फत उनीहरूको उचित व्यवस्थापन र पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गरे।

प्रतिनिधिसभा बैठकमा विपक्षी सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर पुनः प्रश्न उठाएपछि संसद्मा राजनीतिक बहस थप चर्किएको छ।

Skip This