अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सच्याउन सभामुखसँग सांसद शर्माको रुलिङ माग

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सच्याउन सभामुखसँग सांसद शर्माको रुलिङ माग


काठमाडौँ-प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद गोपाल शर्माले प्रधानमन्त्रीले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्ति तत्काल सच्याउन सभामुख डोलप्रसाद अर्यालसँग रुलिङ गर्न माग गरेका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शर्माले प्रधानमन्त्रीले सीमा सम्बन्धमा दिएको गलत अभिव्यक्ति अहिलेसम्म नसच्चिएको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले उक्त विषयमा सभामुखले समेत आवश्यक रुलिङ नगरेको भन्दै आपत्ति जनाए।

सांसद शर्माले प्रधानमन्त्री स्वयं संसदमा उपस्थित भई आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने माग गर्दै त्यसो नभएसम्म प्रतिपक्षको विरोध जारी रहने स्पष्ट पारे। उनले सरकारबाट संसदको गरिमा र मर्यादामाथि प्रहार हुने काम भइरहेको आरोपसमेत लगाए।

उनले सरकार संसदप्रति उत्तरदायी हुनुपर्ने संवैधानिक व्यवस्था स्मरण गराउँदै प्रधानमन्त्रीको अभिव्यक्तिका विषयमा स्पष्ट जवाफ र सुधार आवश्यक रहेको बताए।

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलहरूले विगतदेखि नै आपत्ति जनाउँदै आएका छन्। उनीहरूले उक्त अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन तथा प्रधानमन्त्रीबाट औपचारिक रूपमा सच्याउन माग गर्दै आएका छन्।

Skip This