अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चिया उद्योग र किसानका समस्याप्रति सरकार उदासीन: सांसद निश्कल राई

चिया उद्योग र किसानका समस्याप्रति सरकार उदासीन: सांसद निश्कल राई


काठमाडौँ-नेपाली कांग्रेसका सचेतक निश्कल राईले नेपालको चिया क्षेत्रले वार्षिक रूपमा ३ करोड रुपैयाँभन्दा बढी मूल्यको तयारी चिया निर्यात गर्दै राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याइरहे पनि सरकारले आवश्यक ध्यान नदिएको बताएका छन्।

बुधबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै राईले प्रधानमन्त्री बालेन्द्र शाहप्रति कटाक्ष गर्दै चिया उद्योग र किसानका समस्याप्रति सरकार उदासीन रहेको आरोप लगाए।

‘प्रधानमन्त्रीज्यू दुई मन्त्रीलाई लिएर देश बनाउन व्यस्त हुनुहुन्छ। सामाजिक सञ्जालमा उहाँ चिया पसलमा गएर चिया पिएको देखिनुहुन्छ, तर चिया उद्योग र किसानको समस्या समाधान गर्न उहाँलाई फुर्सद भएन,’ उनले भने।

राईका अनुसार भारतले चिया निर्यातमा नयाँ तथा झन्झटिलो मापदण्ड लागू गरेपछि इलामका चिया उद्योगी र किसान प्रत्यक्ष प्रभावित भएका छन्। भारतीय चिया बोर्डले लागू गरेको ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर (एसओपी)’ का कारण इलामका ८३ वटा चिया कारखाना तीन दिनदेखि बन्द अवस्थामा पुगेका छन्।

उनले नयाँ व्यवस्थाअनुसार चियाको गुणस्तर परीक्षण प्रतिवेदन आउन दुई साताभन्दा बढी समय लाग्ने र प्रतिवेदन प्राप्त नभएसम्म चिया बिक्री गर्न नपाइने अवस्था सिर्जना भएको बताए। प्रतिवेदनमा सामान्य समस्या देखिए पनि उत्पादित चिया नष्ट गर्नुपर्ने बाध्यकारी प्रावधानले सूर्योदय नगरपालिकाका ५३ सहित जिल्लाभरका ८३ उद्योग बन्द हुन पुगेको उनको भनाइ थियो।

उद्योग बन्द हुँदा किसानले उत्पादन गरेको हरियो चियापत्ती खेर जाने, मजदुरको रोजगारी गुम्ने तथा उद्योगीहरू बैंकको ब्याजसमेत तिर्न नसक्ने अवस्थामा पुगेको राईले बताए।

समस्या समाधानका लागि उनले सरकारसँग तत्काल भारतसँग ‘जीटुजी’ (सरकार–सरकार) तहमा पहल गरी चिया निर्यात खुलाउने वातावरण बनाउन, कूटनीतिक माध्यमबाट दीर्घकालीन समाधान खोज्न, नेपालमै चिया परीक्षण प्रयोगशाला स्थापना प्रक्रिया अघि बढाउन तथा तेस्रो मुलुकमा बजार विस्तार गरी निर्यातका नयाँ अवसर सिर्जना गर्न माग गरे।

Skip This