अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महिला फुटबल टोलीको एशियाली खेलकुद सहभागिता सुनिश्चित गर्न ऐन महरको माग

महिला फुटबल टोलीको एशियाली खेलकुद सहभागिता सुनिश्चित गर्न ऐन महरको माग


काठमाडौं-नेकपा (एमाले)का प्रमुख सचेतक ऐनबहादुर महरले सन् २०२६ मा जापानमा आयोजना हुने २०औँ एशियाली खेलकुदमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीको सहभागिता सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

बुधवार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै महरले बजेट अभावका कारण महिला खेलाडीहरू उक्त प्रतिष्ठित प्रतियोगिताबाट वञ्चित हुन लागेको समाचारप्रति चिन्ता व्यक्त गरे। उनले खेलाडीहरूको भिसा प्रक्रियाका लागि राहदानीसमेत सङ्कलन भइसकेको अवस्थामा बजेटलाई बहाना बनाएर सहभागिता रोक्नु खेलाडी र समग्र खेलकुद क्षेत्रप्रतिको अन्याय हुने बताए।

महरले प्रधानमन्त्रीको सामाजिक सञ्जाल फेसबुकको कभर फोटोमा महिला राष्ट्रिय फुटबल टोलीको सामूहिक तस्बिर रहेको उल्लेख गर्दै त्यसलाई व्यवहारमा पनि प्रतिबिम्बित गर्न आग्रह गरे। प्रधानमन्त्रीले महिला खेलाडीहरूप्रति देखाएको सम्मान र विश्वास बजेट विनियोजनमार्फत पुष्टि हुनुपर्नेमा उनले जोड दिए।

यसैबीच, महरले आगामी विश्वकप फुटबल प्रतियोगिताको टेलिभिजन प्रसारणमा लिइने अतिरिक्त शुल्कको विषयमा पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए। अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुने २३औँ विश्वकप फुटबलका खेलहरू हेर्न नेपाली दर्शकले ९९९ रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको भन्दै उनले यसलाई ‘लुट’को संज्ञा दिए।

आम नेपाली फुटबलप्रेमीहरूले राष्ट्रिय टेलिभिजनमार्फत निःशुल्क रूपमा विश्वकपका खेलहरू हेर्न पाउने वातावरण बनाउन सरकार र सम्बन्धित निकायले पहल गर्नुपर्ने उनको माग थियो।

Skip This