काठमाडौं- नेकपा एमालेका सांसद गुरु बरालले राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पद रिक्त रहेको अवस्थामा कानुनले मान्यता नदिएको व्यक्तिलाई उपाध्यक्षको हैसियतमा आयोगको बैठकमा सहभागी गराइएको भन्दै आपत्ति जनाएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बरालले प्रधानमन्त्रीको अध्यक्षतामा बसेको राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठकमा उपाध्यक्ष पद खाली हुँदाहुँदै श्रीकृष्ण गिरीलाई उपाध्यक्षका रूपमा उपस्थित गराइएको दाबी गरे।
सांसद बरालले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ अनुसार आयोगको उपाध्यक्ष पद रिक्त रहेको र नयाँ उपाध्यक्ष नियुक्तिका लागि प्रक्रिया अगाडि बढिसकेको बताए। उनका अनुसार उक्त पदका लागि १० जनाले आवेदन दिइसकेका छन् भने लोक सेवा आयोगका अध्यक्ष, मुख्य सचिव तथा सम्बन्धित सदस्यहरू सम्मिलित समितिमार्फत छनोट प्रक्रिया अघि बढिरहेको छ।
बरालले उपाध्यक्ष पद रिक्त रहेको अवस्थामा छात्रवृत्तिसम्बन्धी दीर्घकालीन महत्वको कार्यविधि स्वीकृत गर्ने बैठकमा कानुनी हैसियत नभएको व्यक्तिलाई उपाध्यक्षका रूपमा सहभागी गराइनु नियमविपरीत भएको बताए।
‘हिजो एउटा अनौठो दृश्य देखियो। प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकमा नेपालको कानुनले नचिनेको मान्छे उपाध्यक्षको हैसियतले उपस्थित हुनुहुन्थ्यो। राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ ले व्यवस्था गरेअनुसार उपाध्यक्षको पद खाली भएको कुरा सबैलाई थाहा छ,’ सांसद बरालले भने।
सांसद बरालले उपाध्यक्षको जिम्मेवारी दिनुपर्ने भए आयोगभित्रकै वरिष्ठ अधिकारीलाई कार्यवाहक जिम्मेवारी दिन सकिने भए पनि त्यसो नगरी बाहिरबाट व्यक्ति ल्याएर नियुक्त गरिएको आरोप लगाए।
‘उहाँ कसरी उपाध्यक्षको रूपमा प्रधानमन्त्रीको त्यो कार्यक्रममा पुग्नुभयो? चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष खाली छ। उहाँलाई कानुनले चिन्दैन। कार्यवाहक दिनुपर्ने भए त्यहीँको वरिष्ठलाई जिम्मेवारी दिएर काम चलाउन सकिन्थ्यो। तर बाहिरको मान्छे ल्याएर नियुक्त गरियो र अवैध ढंगले बैठकमा उपस्थित गराइयो। यो प्रक्रिया अविलम्ब बन्द होस्,’ सांसद बरालले माग गरे।
सांसद बरालले उक्त विषयमा सरकारको ध्यानाकर्षण गराउँदै कानुनी प्रक्रिया र संस्थागत मर्यादा कायम गर्न आग्रह गरेका छन्।






प्रतिक्रिया