अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभा बैठक

संसदमा एमाले सांसदको प्रश्न: आयोगको वैधानिकता र महिला फुटबल टोलीको भविष्य के हुँदैछ ?

संसदमा एमाले सांसदको प्रश्न: आयोगको वैधानिकता र महिला फुटबल टोलीको भविष्य के हुँदैछ ?


काठमाडौं-नेकपा (एमाले)का सांसदहरूले बुधबार बसेको प्रतिनिधिसभा बैठकमा चिकित्सा शिक्षा आयोगको वैधानिकता, महिला राष्ट्रिय फुटबल टोलीको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता तथा विश्वकप फुटबल प्रसारण शुल्कलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

चिकित्सा शिक्षा आयोगको बैठकमा कानुनले नचिनेको व्यक्तिको कसरी सहभागी भयो: गुरु बराल

नेकपा (एमाले)का सांसद गुरु बरालले राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठकमा कानुनले नचिनेको व्यक्तिको उपस्थिति रहेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद बरालले प्रधानमन्त्रीको अध्यक्षतामा सम्पन्न राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वउपाध्यक्ष डा. श्रीकृष्ण गिरी उपाध्यक्षको हैसियतमा सहभागी भएको विषयप्रति आपत्ति जनाएका हुन्।

बरालले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ अनुसार आयोगको उपाध्यक्ष पद हाल रिक्त रहेको र नयाँ उपाध्यक्ष नियुक्तिका लागि लोक सेवा आयोगका अध्यक्षको संयोजकत्वमा सिफारिस समिति गठन भई छनोट प्रक्रिया अघि बढिरहेको जानकारी दिए। हालसम्म १० जनाले उपाध्यक्ष पदका लागि आवेदन दिएको र छनोट प्रक्रिया जारी रहेको अवस्थामा गिरी कसरी उपाध्यक्षका रूपमा प्रधानमन्त्रीको कार्यकक्षमा पुग्नुभयो भन्ने प्रश्न उनले उठाए।

उनले उक्त बैठकबाट चिकित्सा शिक्षासँग सम्बन्धित दीर्घकालीन महत्त्वको छात्रवृत्ति कार्यविधि स्वीकृत गरिएको उल्लेख गर्दै बैठक र त्यसबाट भएका निर्णय प्रक्रियामाथि समेत प्रश्न उठाए। आयोगमा कार्यवाहक जिम्मेवारी दिनुपर्ने अवस्था आए आयोगकै वरिष्ठ सदस्यलाई जिम्मेवारी दिनुपर्ने कानुनी व्यवस्था रहेको भन्दै बाहिरको व्यक्तिलाई सहभागी गराइनु कुनै पनि हिसाबले उचित नभएको उनको भनाइ थियो।

‘प्रधानमन्त्रीको अध्यक्षतामा बसेको राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठकमा कानुनले नचिनेको मान्छे उपाध्यक्षको हैसियतमा उपस्थित हुनुहुन्थ्यो। १० जनाले आवेदन दिएको र छनोट प्रक्रिया जारी रहेको अवस्थामा श्रीकृष्ण गिरी कसरी उपाध्यक्षका रूपमा प्रधानमन्त्रीको कार्यकक्षमा पुग्नुभयो ?’ भन्दै उनले सरकारसँग जवाफ माग गरे।

सांसद बरालले राज्यका जिम्मेवार निकायहरूको उपस्थितिमा हुने यस्ता गैरकानुनी र नियमविपरीतका गतिविधि तत्काल रोक्न तथा आयोगका सम्पूर्ण कामकारबाहीलाई विधिसम्मत ढंगले सञ्चालन गर्न सरकारसँग माग गरेका छन्।

महिला फुटबल टोलीको एशियाली खेलकुद सहभागिता सुनिश्चित गर्न एमाले प्रमुख सचेतक महरको माग

नेकपा (एमाले)का प्रमुख सचेतक ऐनबहादुर महरले सन् २०२६ मा जापानमा आयोजना हुने २०औँ एशियाली खेलकुदमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीको सहभागिता सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै महरले बजेट अभावका कारण नेपाली महिला फुटबल टोली प्रतिष्ठित प्रतियोगिताबाट वञ्चित हुन लागेको चिन्ता व्यक्त गरे।

उनले खेलाडीहरूको भिसा प्रक्रियाका लागि राहदानीसमेत संकलन भइसकेको अवस्थामा बजेटलाई बहाना बनाएर सहभागिता रोक्नु खेलाडी र समग्र नेपाली खेलकुद क्षेत्रमाथिको अन्याय हुने बताए।

महरले प्रधानमन्त्रीको सामाजिक सञ्जाल फेसबुकको कभर फोटोमा महिला राष्ट्रिय फुटबल टोलीको सामूहिक तस्बिर रहेको स्मरण गराउँदै खेलाडीहरूप्रतिको सम्मान व्यवहारमा पनि देखिनुपर्ने बताए। उनले महिला खेलाडीप्रति व्यक्त गरिएको विश्वास र सम्मान बजेट व्यवस्थामार्फत पुष्टि हुनुपर्नेमा जोड दिए।

यसैबीच, उनले आगामी विश्वकप फुटबल प्रतियोगिताको टेलिभिजन प्रसारणमा दर्शकसँग अतिरिक्त शुल्क असुल्ने व्यवस्थाप्रति पनि आपत्ति जनाए। अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुने विश्वकप फुटबलका खेलहरू हेर्न नेपाली दर्शकले ९९९ रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको भन्दै उनले यसलाई आम फुटबलप्रेमीमाथिको आर्थिक भार भएको बताए।

महरले विश्वकप फुटबलजस्तो लोकप्रिय प्रतियोगिता राष्ट्रिय टेलिभिजनमार्फत निःशुल्क हेर्न पाउने वातावरण बनाउन सरकार र सम्बन्धित निकायले आवश्यक पहल गर्नुपर्ने माग गरे।

उनले महिला खेलकुदको प्रवर्द्धन, खेलाडीको मनोबल वृद्धि तथा खेलकुदप्रति नागरिकको पहुँच सुनिश्चित गर्न सरकार संवेदनशील बन्नुपर्ने धारणा व्यक्त गरे।

Skip This