काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा मन्त्रीहरूले संसदीय मर्यादा र नियमावली उल्लङ्घन गरेको भन्दै आपत्ति जनाएको छ। एमाले प्रमुख सचेतक ऐन महरले बुधबारको प्रतिनिधिसभा बैठकमा नियमापत्ति जनाउँदै मन्त्रीहरूको व्यवहारले संसद्को गरिमा र मर्यादामा आँच पुगेको बताएका हुन्।
प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २० को खण्ड (६) अनुसार सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न नपाइने व्यवस्था रहेको उल्लेख गर्दै महरले उक्त प्रावधानको उल्लङ्घन भएको बताए। नियमावलीको त्यो बुँदामा ‘सभामुखको आसन तथा बोलिरहेको सदस्यको बिचबाट हिँड्न नहुने’ व्यवस्था छ।
आकस्मिक समयमा नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश मल्लले आफ्नो धारणा राखिरहेका बेला दुई जना मन्त्री सभामुखको आसन र बोलिरहेका सांसदको बीचबाट हिँडेको घटनाप्रति लक्षित गर्दै महरले आपत्ति जनाएका थिए।
‘मन्त्रीज्यूहरू सरासर हिँडिरहनुभएको छ, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २० को खण्ड (६) विपरीत छ। संसद्को गरिमा र मर्यादा कायम राख्नु हामी सबैको जिम्मेवारी हो, तर सरकारको त झन् बढी जिम्मेवारी हुन्छ,’ महरले बैठकमा भने।
उनले मन्त्रीहरूको उक्त व्यवहारप्रति घोर आपत्ति, निन्दा र दुःख व्यक्त गर्दै सभामुखको ध्यानाकर्षण गराएका थिए। साथै, यस्ता गतिविधि दोहोरिन नदिन सभामुखबाट स्पष्ट रुलिङ हुनुपर्ने माग समेत गरेका छन्। ‘मन्त्रीज्यूहरूले नियमावलीको धज्जी उडाउनु भएको छ, यसमा सभामुखको ध्यानाकर्षण होस् र आवश्यक रुलिङ गरियोस्,’ उनले भने ।
महरले संसद्को नियमावलीको पालना गर्न सरकार पक्षका मन्त्रीहरू स्वयं जिम्मेवार हुनुपर्ने उल्लेख गर्दै संसदीय अभ्यास र मर्यादाको सम्मान गर्न आग्रह गरे।






प्रतिक्रिया