काठमाडौँ-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संवैधानिक निकायहरूलाई दबाबमा राखेर ‘जङ्गलीराज’ चलाउन खोजेको आरोप लगाएका छन्। प्रतिनिधिसभाको बैठकमा शुक्रबार आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद खड्कबहादुर बुढाले सिंहदरबारभित्र कुनै अदृश्य गिरोहले शासन चलाइरहेको बताएका हुन् ।
सांसद बुढाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लगायतका पदाधिकारीहरूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ९ घण्टासम्म राखेर दबाब दिइएको समाचार सार्वजनिक भएका भन्दै आपत्ति जनाए । ‘अख्तियारका अधिकारीहरूलाई ९ घण्टासम्म राखेर विशेष व्यक्तिविरुद्ध पक्राउ पुर्जी जारी गर्न निर्देशन दिइएको छ भन्ने सुनिन्छ, यो विधिको शासन हो कि जङ्गलीराज ?
उनले भने, ‘अख्तियार कुनै प्रधानमन्त्री कार्यालय मातहतको सतर्कता केन्द्र होइन, यो संवैधानिक अङ्ग हो । यसको काम नै आवश्यक परेका बेला सरकारमाथि निगरानी राख्ने र राज्य शक्तिमा ‘चेक एण्ड ब्यालेन्स’ कायम गर्ने हो ।’
भ्रष्टाचारका कुनै पनि घटनामा कांग्रेसले बाधा नपुर्याउने बुढाले बताए । उनले भने, ‘भ्रष्टाचार गर्ने व्यक्ति कांग्रेसको नेता होस् वा कुनै अरु दलको, पूर्व प्रधानमन्त्री होस् वा वर्तमान पदाधिकारी- कानुनभन्दा माथि कोही छैन । तर, परिणाममा पुग्ने प्रक्रिया विधिसम्मत र कानुन बमोजिम हुनुपर्छ ।’
सांसद बुढाले प्रधानमन्त्री संसद्को सामना गर्न डराएको आरोप लगाए । ‘जुन संसद्ले प्रधानमन्त्री बनायो, त्यही संसद्लाई प्रधानमन्त्रीले उपेक्षा गरिरहनुभएको छ,’ उनले भने, ‘बजेटको प्रश्न होस् वा सीमाको विषय, प्रधानमन्त्री संसद्मा आएर जवाफ दिन चाहनुहुन्न । यो सिङ्गो देशका नागरिकलाई हेपेको हो ।






प्रतिक्रिया