काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज राईले विपक्षी दलहरूको मागप्रति प्रधानन्त्री वालेन्द्र शाह ‘बालेन’ र सभामुख डीपी आर्यालले दुवैले बेवास्ता गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले विपक्षीका आवाज निरन्तर उठिरहे पनि सुनुवाइ नभएको गुनासो गरे। उनले बोली कसैलाई नसुन्ने भएपछि ढुंगाहरूको देश हो या मान्छेहरूको देश हो अचम्म लागेको बताए ।
उनले प्रधानमन्त्रीको जवाफ माग गरिएको एक महिनाभन्दा बढी समय बितिसकेको र प्रधानमन्त्रीको वक्तव्य सच्याउन तथा संसद्को रेकर्डबाट उक्त अभिव्यक्ति हटाउन माग गर्दै १६ दिनदेखि विरोध भइरहेको बताए।
‘प्रतिपक्ष बोलिरहने, सत्तापक्ष नसुनीकन अघि बढिरहने गर्न हुँदैन। तपाईंले पनि नसुन्ने, उहाँले पनि नसुन्ने, कसैले कसैलाई नसुन्ने भएपछि ढुंगाहरूको देश हो या मान्छेहरूको देश हो अचम्म लागेको छ,’ उनले संसद्मा भने।
राईले जिम्मेवारीबोधले मात्र लोकतान्त्रिक प्रणालीलाई प्रभावकारी बनाउन सक्ने उल्लेख गर्दै सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिए। उनले संसद्को गरिमा र विपक्षीको भूमिकाको सम्मान गर्दै उठाइएका विषयमा गम्भीर सुनुवाइ हुनुपर्ने धारणा राखे।
यसैबीच, राईले रक्षा मन्त्रालयसँग सम्बन्धित ‘रेडबुक’ संसदलाई उपलब्ध नगराइएको विषयमा पनि प्रश्न उठाउँदै पारदर्शिता र जवाफदेहिताको माग गरेका छन्।






प्रतिक्रिया