अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘म पनि पर्छु कि’ भन्ने त्रासले घट्यो सेयर बजार: अर्थमन्त्री वाग्ले

‘म पनि पर्छु कि’ भन्ने त्रासले घट्यो सेयर बजार: अर्थमन्त्री वाग्ले


काठमाडौं- अर्थमन्त्री स्वर्णिम वाग्लेले पछिल्लो समय सेयर बजारमा देखिएको गिरावट र उतारचढावको मुख्य कारण लगानीकर्तामा देखिएको मनोवैज्ञानिक त्रास र कानुनी कारबाहीको प्रभाव भएको बताएका छन्।

प्रतिनिधिसभामा आर्थिक ऐन, २०८१ माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले पुँजी बजार र बिमा क्षेत्रमा देखिएको असामान्य गतिविधिप्रति सरकार गम्भीर रहेको बताए। हालै १ खर्ब रुपैयाँभन्दा बढी बिगो दाबीसहित विभिन्न मुद्दाहरू अघि बढाइएको उल्लेख गर्दै उनले ती मुद्दाको केन्द्रमा पुँजी बजार र बिमा क्षेत्र रहेको जानकारी दिए।

अर्थमन्त्रीले अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढेसँगै केही लगानीकर्तामा ‘म पनि कारबाहीमा पर्छु कि’ भन्ने आशंका र त्रास उत्पन्न भएको हुन सक्ने बताए। यही मनोवैज्ञानिक प्रभावले बजारमा दबाब सिर्जना गरेको उनको भनाइ थियो।

‘अहिले १ खर्बभन्दा बढीको बिगोमा मुद्दा चलेको छ। यसको केन्द्रमा क्यापिटल मार्केट र बिमा क्षेत्र देखिएको छ। अनुसन्धान र कारबाहीको प्रक्रिया अघि बढ्दै जाँदा कतै म पनि पर्छु कि भन्ने भ्रम वा त्रास केही लगानीकर्तामा परेको हुन सक्छ,’ उनले भने।

ठूला अनियमिततामा संलग्न व्यक्तिमाथि कानुनी कारबाही सुरु हुनुले बजारमा केही समयका लागि अन्योलता देखिएको संकेत गर्दै अर्थमन्त्रीले यसलाई अस्थायी अवस्था भएको बताए।

उनले सरकार सेयर बजारको दैनिक उतारचढावभन्दा पनि यसको दीर्घकालीन स्थायित्व र स्वस्थ विकासमा केन्द्रित रहेको स्पष्ट पारे। ‘हामी एक घण्टामा स्टक मार्केट कति तलमाथि जान्छ भनेर हेर्दैनौँ। सरकारको ध्यान बजारको दीर्घकालीन स्वास्थ्य, पारदर्शिता र स्थायित्वमा छ,’ उनले भने।

अर्थमन्त्रीले लगानीकर्तालाई हल्ला र अफवाहको पछि नलाग्न आग्रह गर्दै सरकारले पुँजी बजारलाई थप व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउन नीतिगत सुधारका कामहरू अघि बढाइरहेको बताए। अहिलेको अवस्था अस्थायी रहेको दाबी गर्दै उनले लगानीकर्तालाई दीर्घकालीन रूपमा आशावादी रहन आग्रह गरे।

Skip This