काठमाडौँ-प्रतिनिधिसभाको शुक्रबार बस्ने बैठकका लागि सङ्घीय संसद् सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। महासचिव पद्मप्रसाद पाण्डेद्वारा हस्ताक्षरित कार्यसूचीअनुसार बैठकमा विभिन्न विधेयकहरू प्रस्तुत गरिनुका साथै महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेस गरिने भएको छ।
शुक्रबार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘महालेखा परीक्षकको त्रिसट्ठीऔँ वार्षिक प्रतिवेदन, २०८३’ सदनमा पेस गर्ने कार्यसूची रहेको छ।
यस्तै, मन्त्री गौतमले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्दै विधेयक सदनमा दर्ता गराउने कार्यक्रम रहेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रतिनिधिसभामा प्रस्तुत गर्नेछन्। साथै, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ पेस गर्ने कार्यसूची छ।
त्यसैगरी, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ सदनमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
बैठकमा बजेटसँग सम्बन्धित विधेयकहरूलाई पनि अघि बढाइने भएको छ। अर्थमन्त्री डा. वाग्लेले ‘आर्थिक विधेयक, २०८३’ माथि प्राप्त संशोधनहरू निर्णयार्थ प्रस्तुत गर्दै उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सदनसमक्ष राख्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।






प्रतिक्रिया